९ मंसिर, काठमाडौं । नेपालको राजनीतिमा युवा पुस्ताको बढ्दो दबाब र प्रधानमन्त्रीको सचिवालयको कार्यशैलीलाई लिएर सिंहदरबारमा सोमबार एक नाटकीय घटना भएको छ।
प्रधानमन्त्री सुशीला कार्की ले भेट्न नदिएपछि आक्रोशित भएका ‘जेनजी’ युवाहरूले प्रधानमन्त्रीको कार्यकक्षबाहिरै राजीनामा माग गरेका छन् ।
यो विवाद प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठ ले आफ्नी श्रीमती र नातेदारलाई जागिर खुवाएको विषय सार्वजनिक भएपछि सुरु भएको हो। यही विषयमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउन भन्दै सुदन गुरुङ समूह, मिराज ढुंगाना, कर्णाली जेनजीको नेतृत्व गरेकी सुप्रिया राज्यलक्ष्मी शाही र रविकिरण हमाल समूह लगायतका करिब ५० जना युवा बिहान ११ बजे नै प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
प्रधानमन्त्री व्यस्त रहेको भन्दै उनीहरूलाई छुट्टै कोठामा कुराइयो। प्रधानमन्त्रीको सचिवालयका कर्मचारीले भेटअघि अलग्गै छलफल गर्ने बहानामा उनीहरूलाई साँझ ४ बजेसम्म झुलाए। तर, ढिलो गरी प्रधानमन्त्री कार्की कार्यकक्षबाट बाहिरिसकेको खबर पाएपछि युवाहरू आक्रोशित बने ।
आक्रोशित युवाहरूले प्रेस संयोजक राम रावलमाथि खनिए र ‘जेनजी पुस्ताको आन्दोलनको बलमा बनेको प्रधानमन्त्रीले जेनजीलाई नै भेट्न नचाहेको’ भन्दै राजीनामाको माग गर्न थाले। भिडियो क्लिपमा देखिएका एक युवकले त ‘जेनजीको माग र मर्म कदर गर्न नसक्ने प्रधानमन्त्रीको राजीनामा चाहियो’ भन्दै चर्को अभिव्यक्ति दिएका छन् । अर्का युवकले शहीदको रगतमा सरकार बन्ने, तर हामीलाई भेट्न नदिने भन्दै आपत्ति जनाए। स्थिति तनावपूर्ण भएपछि अप्रिय घटना हुन नदिन प्रहरी टोली नै बोलाउनुपर्यो।
सिंहदरबार पुगेका सोम शर्माका अनुसार, सचिवालयले आठ-दश जनाको प्रतिनिधिमण्डल छनोट गर्न लगाए पनि त्यसपछि भेट गराउनुको सट्टा गुमराहमा राख्यो । सुप्रिया राज्यलक्ष्मी शाहीले त झन् प्रमुख सल्लाहकार अजयभद्र खनाल ले अर्को कोठामा छलफल गर्ने भन्दै आफूहरूलाई अल्मल्याएर त्यही मौकामा प्रधानमन्त्रीलाई सुटुक्क बाहिर निकालिएको आरोप लगाइन् । युवाहरूले आदर्श कुमार श्रेष्ठलाई पदबाट हटाउनुपर्ने, उनले गरेको नियुक्ति खारेज गर्नुपर्ने र महान्यायाधिवक्ता सबिता भण्डारीलाई पनि हटाएर कारबाही गर्नुपर्ने मुख्य माग राखेका छन्। उनीहरूले प्रधानमन्त्री व्यस्त भए पनि श्रेष्ठले स्पष्टीकरण दिन सक्ने तर त्यति पनि नगरिएकोमा खेद व्यक्त गरे ।
यता प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्रीको व्यस्तताका कारण समय मिलाउन नसकिएको स्पष्टीकरण दिएको छ। प्रमुख सल्लाहकार खनालले आदर्श कुमार श्रेष्ठको नियुक्तिको विषय समाचारमा आएजस्तो पूर्ण सत्य नभएको दाबी गर्दै जेनजीका कतिपय माग जायज भएको र छलफलको क्रममा रहेको जानकारी दिएका छन्। प्रेस संयोजक रावलले आज कतिपयलाई भेटका लागि बोलाइएको बताएका छन् ।
तर, कर्णाली जेनजीकी सुप्रिया शाहीले भने आफूहरू आज फेरि ४ बजे प्रधानमन्त्रीलाई भेट्न जाने र यदि भेटेर ज्ञापनपत्र बुझाउन नपाए धर्ना बस्ने चेतावनी दिएकी छन् । यस घटनाले प्रधानमन्त्री र जेनजी पुस्ताबीचको दूरी बढाएको र आगामी दिनमा युवाहरूको आक्रोशले थप कस्तो रूप लिन्छ भन्ने प्रश्न खडा गरेको छ ।
















