१० मंसिर, काठमाडौं । वैदेशिक रोजगारीका लागि तयारी गरिरहेका श्रमिकहरूमाथि आर्थिक भार थपिने भएको छ ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको ८ चैत २०८१ को मन्त्रीस्तरीय निर्णय आज, मंसिर १० गतेदेखि कार्यान्वयनमा आएसँगै स्वास्थ्य परीक्षण शुल्क बढेर ९ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि स्वास्थ्य व्यवसायीले ६ हजार ५ सय रुपैयाँसम्म लिने गरेका थिए । सरकारले स्वास्थ्य परीक्षण सेवालाई गुणस्तरीय बनाउने तर्क गर्दै ३४ प्रकारका स्वास्थ्य परीक्षण अनिवार्य गरेको छ र यसैका लागि शुल्क वृद्धि गरिएको जनाएको छ । तर, यो निर्णय तत्कालीन समयमा चौतर्फी विवाद र विरोधका कारण कार्यान्वयनमा आउन सकेको थिएन ।
अहिले विभागीय मन्त्रीसमेत नभएको अवस्थामा नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले आफ्ना संस्थामा आबद्ध व्यवसायीहरूलाई पत्राचार गर्दै बढेको शुल्क अनिवार्य रूपमा कार्यान्वयन गर्न अनुरोध गरेका छन् । यसरी मन्त्री नभएको मौकामा विवादित शुल्क कार्यान्वयनमा ल्याइनुले हजारौँ श्रमिकहरूको विदेश जाने लागत स्वतः बढ्ने निश्चित भएको छ । व्यवसायीहरूले सबै स्वास्थ्य संस्थालाई प्रविधिमैत्री बनाउने कार्यमा मन्त्रालयले सहयोग गरिरहेको समेत जनाएका छन्।

















