१० मंसिर, काठमाडौं । नेपालको विद्युतीय सञ्जालको सशक्तीकरण र क्षेत्रीय ऊर्जा व्यापार विस्तार गर्ने महत्वाकांक्षी लक्ष्यका साथ एमसीए–नेपालले एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत न्यू बुटवल सबस्टेसन र १८ किलोमिटर लामो प्रसारणलाइन निर्माणको औपचारिक शुभारम्भ गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा बुधबार आयोजित समारोहबीच अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्कोको उपस्थितिमा यस आयोजनाको निर्माण कार्य थालिएको हो । उक्त अवसरमा अर्थमन्त्री खनालले आयोजनालाई ‘दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउने नेपाल सरकारको सशक्त प्रतिबद्धता’ का रूपमा व्याख्या गरे । त्यस्तै, राजदूत थम्प्सनले अमेरिका ‘थप भरपर्दो ऊर्जा प्रणाली निर्माण गर्ने कार्यमा एक प्रतिबद्ध साझेदारका रूपमा नेपालसँग उभिन पाउँदा गर्व लागेको बताए । उनले यो पूर्वाधारले व्यापार, वृद्धि तथा प्रगतिका लागि अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण हुने यो १८ किलोमिटरको प्रसारणलाइनले ४०० केभी न्यू बुटवल सबस्टेसनलाई सिधै नेपाल–भारत सीमासँग जोड्नेछ । यो पूर्वाधार सन् २०२४ को ऐतिहासिक ऊर्जा व्यापार सम्झौता अन्तर्गत आगामी दशकभित्र १० हजार मेगावाट बिजुली निर्यात गर्ने नेपालको लक्ष्यका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ ।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टका अनुसार, यो आयोजनाले नेपालमा बढ्दो जलविद्युत् उत्पादनलाई क्षेत्रीय बजारसँग जोड्नुका साथै उच्च भोल्टेजयुक्त विद्युतीय सञ्जाललाई सशक्त बनाउनेछ । यसबाट विद्युत् आपूर्ति भरपर्दो हुनुका साथै चुहावट घट्ने, व्यवसाय सञ्चालनको खर्च घट्ने र नयाँ निजी लगानी आकर्षित हुने अपेक्षा गरिएको छ। समग्रमा, यस आयोजनाले नेपालको ऊर्जा सुरक्षा सशक्त बनाउँदै राष्ट्रको हितमा दीर्घकालीन लाभ दिलाउने नयाँ अध्यायको सुरुवात गरेको छ।
















