१० मंसिर, काठमाडौं । छिमेकी मुलुक भारतले बुधबार आफ्नो ७६ औँ संविधान दिवस मनाइरहेको अवसरमा नेपाली भाषीहरूका लागि महत्त्वपूर्ण कदम चालेको छ ।
भारतले यस विशेष दिनमा नेपाली भाषामा समेत आफ्नो संविधानको आधिकारिक अनुवादित प्रति सार्वजनिक गरेको हो । नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले नेपाली भाषासहित विभिन्न नौ क्षेत्रीय भाषामा भारतीय संविधानको अनुवादित प्रति जारी गरेकी हुन् । राष्ट्रपति मुर्मूले समारोहलाई सम्बोधन गर्दै नेपालीका अतिरिक्त मलयालम, मराठी, पञ्जाबी, बोडो, कश्मिरी, तेलुगु, ओडिया र असमिया भाषामा संविधानको अनुवादित प्रति जारी भएको जानकारी दिइन् ।
२६ नोभेम्बरका दिन मनाइने संविधान दिवसको अवसरमा गरिएको यो कार्यले भारतमा बसोबास गर्ने नेपाली भाषी समुदायलाई आफ्नो मातृभाषामा देशको मूल कानुन बुझ्न पाउने अवसर दिएको छ, जुन बहुभाषिक भारतमा समावेशी पहलका रूपमा लिइएको छ ।
















