१० मंसिर, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दुई राजनीतिक दलहरूबीच महत्वपूर्ण सहमति भएको छ ।
ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनारले गठन गरेको हाम्रो पार्टी नेपालले एउटै चुनाव चिह्न प्रयोग गर्ने निर्णय गरेका छन् । बुधबार काठमाडौंमा भएको छलफलपछि दुवै दल फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘बिजुलीको चिम’ प्रयोग गर्न सहमत भएका हुन् ।
उज्यालो नेपालका प्रवक्ता राजु थापाका अनुसार, दुई दलबीच भएको यस सहमति र चुनाव चिह्न प्रयोगबारे औपचारिक जानकारी दिन अब निर्वाचन आयोगमा निवेदन दिने तयारी भइरहेको छ । फरक पृष्ठभूमिबाट आएका यी दुई दलले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णयले आगामी निर्वाचनमा एक नयाँ ध्रुवीकरणको संकेत गरेको छ ।
















