१० मंसिर, काठमाडौं । नेपालको सेयर बजार परिसूचक नेप्सेमा बुधबार पनि वृद्धि देखिएको छ, जसले बजारमा लगातार चौथो दिनको सकारात्मक संकेत दिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से ९ दशमलव ६१ अंकले बढेर २,६६५ दशमलव ६० विन्दुमा पुगेको छ । यसअघि मंगलबार पनि नेप्से ५।३२ अंकले बढेको थियो । परिसूचक बढेसँगै कारोबार रकममा समेत उत्साहजनक वृद्धि आएको छ। बुधबार ३२२ कम्पनीका १ करोड ३६ लाख २० हजार कित्ता सेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। यो अघिल्लो कारोबार दिन (मंगलबार) को ५ अर्ब ८२ करोडको तुलनामा उल्लेखनीय वृद्धि हो ।
बजारमा खासगरी झापा इनर्जी, सागर डिष्लिटरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लगायतका चार कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस्तै, रिभर फल्स पावरको सेयर मूल्य पनि साढे ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यद्यपि, बोटलर्स नेपालको सेयर मूल्यमा भने ३।९४ प्रतिशतको गिरावट आएको छ ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ। सबैभन्दा बढी होटल तथा पर्यटन उपसमूहमा ० दशमलव ९९ प्रतिशतको वृद्धि देखिएको छ, भने उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, व्यापार र बैंकिङ उपसमूहको परिसूचक पनि ० दशमलव ६० प्रतिशतभन्दा बढीले बढेको छ। कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी सबैभन्दा अगाडि रह्यो, जसको ६२ करोड ४३ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
















