१० मंसिर, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा विचाराधीन रिट निवेदन र आगामी विश्वासको मत दुवैमा आफू सफल हुनेमा पूर्ण विश्वास व्यक्त गरेका छन् ।
मुख्यमन्त्रीको नियुक्तिसम्बन्धी रिटमा बिहीबार सुनुवाइ हुनुअघि उनले अदालतको निर्णय ‘मेरो पक्षमै आउनेछ’ भन्नेमा आफू विश्वस्त रहेको बताए । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण दीर्घकालीन महत्त्वका निर्णयहरू गर्नबाट वञ्चित रहे पनि, मुख्यमन्त्री यादवले युवालाई बेरोजगारी भत्ता दिने र किसानका लागि मलखाद व्यवस्थापन तथा उखुको बक्यौता रकम निकासाका लागि केन्द्र सरकारलाई अनुरोध गर्ने जस्ता महत्वपूर्ण निर्णयहरू गरेको जानकारी दिए । उनले अदालतको आदेश पक्षमा आउनासाथ बेरोजगारी भत्ता लगायतका योजनाहरू द्रुत गतिमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विश्वासको मतबारे सोधिएको प्रश्नमा उनले सबै दलहरूले आफूलाई साथ दिने आशा व्यक्त गरे। उनले भने, ‘अदालतबाट मेरो पक्षमा निर्णय आएमा मलाई विश्वासको मत दिने भनेर उहाँहरूले प्रतिबद्धता जनाउनु भएको छ । सबै दल मिलेर विश्वासको मत दिनुहुन्छ भन्नेमा म विश्वस्त छु।’ यद्यपि, ‘बेटी बचाउ, बेटी पढाउ’ योजना अन्तर्गत थन्किएका साइकलको व्यवस्थापनबारे भने अख्तियारको मुद्दाका कारण तत्काल काम गर्न नसकिएको उनले स्पष्ट पारे ।
यसैबीच, जानकी मन्दिरका महन्थले प्रदेश सरकारले विवाह पञ्चमी समारोहमा साथ नदिएको भन्ने आरोपको खण्डन गर्दै मुख्यमन्त्री यादवले महन्थले ुराजनीतिक अभिव्यक्ति दिएकोु भन्दै आपत्ति जनाएका छन् र विगतको सरकारले गरे अनुसार नै आफूहरूले पनि मणि मण्डप र सामूहिक विवाहको व्यवस्थापनको जिम्मा लिएर काम गरिरहेको बताएका छन् ।
















