१० मंसिर, काठमाडौं । केही समयदेखि अनौपचारिक रूपमा रोकिएको संयुक्त अरब इमिरेट्स (यूएई) को श्रम तथा भिजिट भिसा पुनः खुला भएको छ ।
भदौ २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा जेलबाट कैदी फरार भएको घटनापछि यूएईले नेपाली भिसामा कडाइ गर्दै रोक लगाएको बुझिएको थियो, जसले गर्दा हजारौँ नेपाली कामदार र पर्यटक भिसा प्रक्रियामा अड्किएका थिए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार, भिसा पुनः खुला भएपछि नेपाली कामदार र पर्यटकले भिसा पाउन थालेका छन् र केहीले त आजै भिसा प्राप्त गरिसकेका छन् । यद्यपि, यूएईले भिसा रोक्ने र पुनः खुला गर्ने दुवै प्रक्रियाबारे नेपाल सरकारलाई औपचारिक जानकारी भने दिएको छैन। भिसा प्राप्त हुन थालेपछि रोक हटेको पुष्टि भएको संघले जनाएको छ ।
भिसा रोकिएको अवधिमा परराष्ट्र मन्त्रालय र यूएई सरकारबीच निरन्तर संवाद भएको थियो भने वैदेशिक रोजगार व्यवसायी संघले पनि समस्या समाधानका लागि पहल गरिरहेको थियो । भिसा खुला भएसँगै यूएई जाने तयारीमा रहेका हजारौँ नेपालीको समस्या समाधान हुने अपेक्षा गरिएको छ। तर, अब भिसा प्रक्रियामा कडाइ बढाइएको छ, जसअनुसार यूएई जाने सबै नेपाली नागरिकले प्रहरीबाट जारी गरिएको चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । अब सबै प्रक्रिया यो प्रमाणपत्र सहित पूरा गरेपछि मात्र यूएई प्रवेश भिसा प्राप्त गर्न सकिनेछ ।
















