१० मंसिर, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा उत्रिएका जेनजी युवा र एमालेनिकट युवा संघका कार्यकर्ताबीच कैलालीको धनगढीमा तनाव भएको छ ।
बुधबार बस्नेतलाई धनगढी विमानस्थलबाट युवा संघको राष्ट्रिय जागरण भेला स्थलतर्फ लैजाने क्रममा जेनजी मार्गनजिक विरोध प्रदर्शन भइरहेको थियो। प्रदर्शनकारीहरूले ‘गुण्डुको गुण्डाः गो ब्याक’ र ‘हत्यारालाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । यही प्रदर्शनस्थलमा मोटरसाइकल र्यालीसहित पुगेका एमाले कार्यकर्ता तथा युवा संघका सदस्यहरूले विरोधमा उत्रिएका जेनजी युवाहरूमाथि हातपात गरे । कुटपिटबाट केही जेनजी युवा सामान्य घाइते भएका छन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलनलगत्तै बस्नेतले जेनजी युवाहरूलाई ‘आतंककारी’ तथा ‘टिकटक र रिल बनाउनेहरू’ भन्दै कडा टिप्पणी गरेपछि उनीविरुद्ध देशव्यापी रूपमा विरोध प्रदर्शन चल्दै आएको छ । यसअघि बाराको सिमरा (जहाँ कर्फ्युसमेत लगाइएको थियो), मोरङको विराटनगर (जहाँ उनको गाडीमा रातो रङ छ्यापिएको थियो) र मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा पनि उनीविरुद्ध उस्तै प्रदर्शन भएको थियो ।
















