१० मंसिर, ठोरी । पर्साको ठोरी गाउँपालिकामा सेवा वितरणसम्बन्धी समस्या, नागरिक गुनासा र समाधानका उपायबारे बुधबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका र जिल्ला प्रशासन कार्यालय पर्साको संयुक्त आयोजनामा वडा नं. ४ स्थित घ्याङ्गडाँडा खेलमैदानमा भएको कार्यक्रममा सेवाग्राहीहरूले प्रशासनिक सेवामा भोगिरहेका कठिनाइ खुलस्त रूपमा राखेका थिए।
कार्यक्रम वडाध्यक्ष मानबहादुर थिङको सभापतित्व तथा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भयो । सुनुवाइका क्रममा सहभागीले इलाका प्रशासन कार्यालय सुपौलीमा नागरिकता, नागरिकता प्रतिलिपि तथा राष्ट्रिय परिचयपत्र बनाउन जाँदा कर्मचारी र बिचौलियाबाट मनपरी शुल्क असुल्ने, घुस नदिए महिनौँसम्म सेवा नपाउने जस्ता गुनासा प्रस्तुत गरे ।
सेवाग्राहीहरूले ‘नागरिकता बनाउन पाँच हजारदेखि दश हजार रुपैयाँ लिने’, ‘बिचौलिया नलगाए दस्तुरबाहेक काम नहुने’ आदि समस्याहरू सार्वजनिक रूपमा राखे। उनीहरूले स्थानीय प्रशासनबाट पारदर्शी, छिटोछरितो र शूल्करहित सेवा प्राप्त गर्नुपर्ने माग गरे ।
सवाल-जवाफ सत्रमा जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी तथा इलाका प्रशासन कार्यालय सुपौलीका शाखा अधिकृत विनय कुमार गुप्ताले कार्यालयमा घुस लिने-दिने संस्कृति नरहेको दाबी गर्दै, यस्ता क्रियाकलाप देखिए कडा कारबाही हुने चेतावनी दिए ।
“अहिलेसम्म औपचारिक गुनासो नआएकाले समस्या सतहमै मात्र देखिएको हुन सक्छ,” उनले भने, “यस्ता गतिविधि देखेमा लिखितरूपमा उजुरी दिनुस्, तत्काल कदम चालिन्छ।”
कार्यक्रममा उपाध्यक्ष गोकुली कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार चौधरी, जनप्रतिनिधि, स्थानीयवासी तथा सञ्चारकर्मीको उल्लेखनीय सहभागिता थियो। गाउँपालिकाले सार्वजनिक सुनुवाइलाई सेवा सुधार, जनविश्वास विस्तार र जवाफदेहिताको आधारका रूपमा निरन्तरता दिने जनाएको छ।
















