११ मंसिर, जनकपुर । विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा यस वर्ष ३५ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ ।
स्थानीय समुदाय, धार्मिक संस्था र जनकपुरधाम उपमहानगरपालिकाको सक्रिय सहभागितामा मण्डप तयार गरी आयोजना गरिएको उक्त सामूहिक विवाह कार्यक्रम भव्य तथा व्यवस्थित रूपमा सम्पन्न भएको आयोजक विश्व हिन्दू परिषद्ले जनाएको छ।
विश्व हिन्दू परिषद्को वार्षिक परम्पराअन्तर्गत आयोजना गरिएको यो सामूहिक विवाह कार्यक्रम जनकपुरधाममा वर्षेनि विवाह पञ्चमीको मुख्य आकर्षणका रूपमा मानिन्छ । विगत झैँ यो वर्ष पनि बुधबार साँझ एकै मञ्चमा परम्परागत विधिअनुसार ३५ जोडीको स्वयम्वर सम्पन्न गराइएको थियो ।
आयोजकका अनुसार सामूहिक विवाह कार्यक्रमले आर्थिक अभावका कारण वैवाहिक विधि सम्पन्न गर्न कठिनाइ भोगिरहेका परिवारलाई ठूलो राहत पुर्याउँछ। विवाहका सम्पूर्ण खर्च, सामग्री, पूजा-विधि तथा भोजन व्यवस्थापन परिषद्को सहयोग तथा स्थानीयको सहकार्यमा गरिएको वडाध्यक्ष जितबहादुर राउतले बताए ।
उनका अनुसार प्रत्येक जोडीका लागि छुट्टाछुट्टै मरवा (विवाह मण्डप) तयार गरिएको थियो । परिषद्ले लत्ताकपडादेखि कोसेली र विवाहका सम्पूर्ण सामग्रीहरूको ‘पूर्ण प्याकेज’ उपलब्ध गराएको थियो । साथै, एक जोडीका लागि १०० जनासम्मको भोजन व्यवस्थापन समेत परिषद्ले नै गरेको जानकारी वडाध्यक्ष जितबहादुरले दिए ।
सामूहिक विवाह कार्यक्रमका दौरान मण्डप आसपासको क्षेत्र धार्मिक उत्साह, भक्ति र उत्सवमय वातावरणले भरिएको थियो । स्थानीय प्रतिनिधि, धार्मिक अगुवा, स्वयंसेवक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा जनकपुरधामको सांस्कृतिक पहिचान उजागर भएको आयोजक समितिको भनाइ छ।
धार्मिक सांस्कृतिक पर्वका रूपमा मनाइने विवाह पञ्चमीको मूल आत्मासँग मेल खाने सामूहिक विवाह कार्यक्रमले ‘समाजमा समावेशीता, सहकार्य र ऐक्यबद्धता’ को सन्देश दिएको सहभागीहरूले बताएका छन्।

















