११ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि १०० दरका नयाँ बैंक नोटहरू बजारमा पठाएको छ ।
साविककै आकार र रंगमा जारी गरिएका यी नोटहरूमा केही परिमार्जित विशेषता र थप सुरक्षा मानकहरू समावेश गरिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकका अनुसार, संकेत नम्बर ‘क/२०–०००००१’ देखि घ/४०–९९९९९९’ सम्मका यी नोटहरूलाई अब सर्वसाधारणको प्रयोगका लागि चलनचल्तीमा ल्याइएको हो । यसअघि वि.सं.२०७६ सालमा पनि सय दरका नोटहरू जारी गरिएको भए पनि संकेत नम्बरको सीमित दायरा मात्र प्रचलनमा आएको थियो ।
नयाँ नोटको अग्रभागमा वायाँतर्फ गौरवशाली सगरमाथाको चित्र कायम राखिएको छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप (वाटरमार्क) राखिएको छ। यसको मध्य भागमा नेपालको नक्सा र अशोक स्तम्भको चित्रका साथै वाक्यांश स्पष्ट रूपमा उल्लेख गरिएको छ। नोटमा दृष्टि नभएका व्यक्तिहरूलाई पहिचान गर्न सहज होस् भनी छामेर थाहा पाउने एउटा कालो थोप्लो र वायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र राखिएको छ। सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण, २ मिलिमिटर चौडा र रंग परिवर्तन हुने (रातोबाट हरियोमा) सुरक्षण धागो प्रयोग गरिएको छ । नोटको तल्लो बोर्डरमा सिरिज नम्बर नेपालीमा वि.सं. २०८१ उल्लेख गरिएको छ र यसमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ ।
त्यस्तै, नोटको पृष्ठभागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा लेखिएको छ। यसको केन्द्र भागमा नेपालको वन्यजन्तुको पहिचान बोकेको एक सिंगे गैंडाको माउ र बच्चाको सुन्दर चित्र समावेश गरिएको छ। तल्लो भागको बोर्डरमा नोटको मूल्य र सिरिज नम्बर अंग्रेजीमा उल्लेख गरिएको छ।
यी नयाँ नोटहरूले बजारमा मुद्राको आपूर्तिलाई सहज बनाउनुका साथै उच्च सुरक्षा विशेषताका कारण नक्कली नोटको जोखिमलाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास राष्ट्र बैंकले व्यक्त गरेको छ।

















