११ मंसिर, काठमाडौं । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ पुनः स्थगित भएको छ ।
बिहीबार उच्च अदालत, बुटवल इजलासमा न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको इजलासमा पेशी तोकिएको भए पनि रवि लामिछानेका कानून व्यवसायीले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ हुन नसकेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन् । यसअघि गत बिहीबार पनि पाटन उच्च अदालतमा पेसी परेको भन्दै बुटवल इजलासको सुनुवाइ स्थगित भएको थियो ।
जिल्ला अदालत, रुपन्देहीको आदेशमा चित्त नबुझेपछि लामिछानेले बिगोबमोजिमको रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । कात्तिक २७ गतेको सुनुवाइमा न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा रहेको मुल अभियोगको मिसिल मगाउने आदेश दिएको थियो, जुन फाइल हालसम्म प्राप्त नभएको र जिल्ला अदालतबाट प्रतिलिपि मात्र आएको बुझिएको छ। यसअघि, अदालतले दुवै प्रतिवादी (रवि र जोशी) को मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ राख्न आदेश दिँदै लामिछानेको माग अनुसार जोशीको फाइल पनि पेश गर्न आदेश गरेको थियो ।
यस प्रकरणमा लामिछाने र जोशीसहितका प्रतिवादीहरूमाथि १० करोड ९९ लाख ३६ हजार रुपैंयाको सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएको थियो । लामिछानेले आफ्नो हिस्साको एक भाग बराबर रु। २ करोड ७४ लाख ८४ हजार बैंक जमानतका रूपमा पेस गरिसक्दा पनि जिल्ला अदालतले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी उच्च अदालत पुगेका थिए ।
हाल लामिछाने नख्खु कारागारमा र जोशी भैरहवा कारागारमा छन् । लामिछानेले आफू सहकारीको शेयर सदस्य, बचतकर्ता वा ऋणी नरहेको र सहकारीबाट रकम पनि नलिएको दाबी गर्दै आएका छन् ।

















