११ मंसिर,काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा उच्च अदालत पाटनबाट २० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो।
महरा गत असोज २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो। उनीमाथि विमानस्थलबाट तस्करी गरिएको सुन छुटाउन भन्सारमा दबाब दिएको आरोप लागेको थियो।
उक्त प्रकरणमा १० पुस २०७९ मा फ्लाई दुबईको एफजेट०५८७ नम्बरको फ्लाइटबाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले दुई वटा सुटकेस भित्र ७३० थान भेप ल्याएका थिए। अनुसन्धानमा खुल्न आएअनुसार भेपमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन लुकाइएको थियो।
सुन भन्सारका नासु रेवनत खड्का लगायतसँग मिलेमतोमा बेचिएको खुलेको छ। महराको छोरा राहुल महरा यसअघि पक्राउ परेर कारागार चलान भइसकेका थिए।
भन्सारले शंकास्पद देखिएका सुटकेस जाँच गर्दा भेप भेटेपछि नियन्त्रणमा लिएको थियो। पछि भेपमा तस्करी गरिएको सुन भएको सूचना पाएर विमानस्थलका कर्मचारीले सुटकेस साटेको पाइएको छ। अनुसन्धानपछि सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकर्मी रेवन्त खड्का सहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

















