Logo

११ मंसिर,काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्ध दायर रिट मुद्दाको सुनुवाइ बिहीबार नसकिएपछि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राख्दै आगामी शुक्रबारका लागि पेसी तोकेको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा रहेको मुद्दामा बिहीबार लामो समयसम्म बहस भए पनि निष्कर्षमा पुग्न नसकेपछि सुनुवाइ सारिएको हो।
सुरुमा न्यायाधीश फुयाँलले बहस तीन घण्टाभित्र समाप्त गर्न निर्देशन दिएका थिए। तर कानुन व्यवसायीले समय अभाव हुने बताएपछि इजलासले थप समय प्रदान गरेको थियो।

रिट निवेदकको पक्षबाट करिब दुई घण्टा लामो बहस सम्पन्न भएको थियो। त्यसपछि मुख्यमन्त्री यादवको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले एक घण्टा भन्दा बढी समय लिएर बहस गरे पनि सकिन नसकेपछि इजलासले मुद्दा भोलिसम्मका लागि हेर्दाहेर्दैमा राखेको हो।

मधेस प्रदेशको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भएको आरोप लगाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि रक्की यादवलगायतले दायर गरेको अर्को रिटमा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई प्रदेशमा दीर्घकालीन प्रभाव पर्ने कुनै पनि नीतिगत तथा कार्यकारी निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार नियम ४९ (२)(क) बमोजिम यस्तो आदेश दिएकाले हाल मुख्यमन्त्री यादव नीतिगत निर्णयहरूबाट प्रतिबन्धित छन्।

सुनुवाइ शुक्रबार पुनः जारी हुने सर्वोच्च अदालत स्रोतले जनाएको छ।


सम्बन्धित समाचार