१२ मंसिर, काठमाडौँ । बंगलादेशले नेपालबाट आयात गर्दै आएको ४० मेगावाट विद्युत्मा थप २० मेगावाट थपेर ६० मेगावाट बिजुली किन्ने सहमति जनाएको छ ।
नेपाल र बंगलादेशबीच ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठक ढाकामा सम्पन्न हुँदै नयाँ सहमति बनेका हुन् ।
बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव चिरञ्जीवी चटौत र बंगलादेशका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयकी सचिव फर्जाना ममताज सहअध्यक्ष रहेका थिए ।
ऊर्जा मन्त्रालयका प्रवक्ता तथा सहसचिव सन्दीपकुमार देवका अनुसार बंगलादेशले आवश्यक प्राविधिक तयारी पूरा गरी थप २० मेगावाट बिजुली आयात गर्न सहमति जनाएको छ।
हाल नेपालले भारतीय ग्रिडमार्फत बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ ।
निर्देशक समितिको बैठकमा ६ बुँदे एजेन्डामा विस्तृत छलफल भएको थियो। बैठकले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता प्रवर्धनसम्बन्धी समझदारीपत्र छिट्टै हस्ताक्षर गर्ने, बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, विद्युतीय सवारी चार्जिङ स्टेशन विकास, रूफटप सोलार प्रविधि जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्रदान गर्ने र दुवै देशबीच क्षमता अभिवृद्धि कार्यक्रम अघि बढाउने सहमति जनाएको मन्त्रालयका प्रवक्ता देवले जानकारी दिए ।
यस्ता प्राविधिक सहकार्यलाई दुवै देशले दीर्घकालीन उर्जा साझेदारीको आधारस्तम्भ मानिरहेका छन् ।
नेपालले बंगलादेशलाई विद्युत् निर्यात गर्न २०१८ असोज १७ मा ४० मेगावाटका लागि त्रिपक्षीय सम्झौता गरेको थियो । यस अंतर्गत नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड, एनटीपीसी विद्युत् व्यापार निगम (भारत) बीच विद्युत् व्यापार सम्झौता भएको थियो ।
बिजुली ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतीय ग्रिडमा प्रवेश गर्छ र त्यहाँबाट बेहरामपुर-भेरामारा लाइनमार्फत बंगलादेशमा पुर्याइन्छ।
प्राधिकरणले बंगलादेशलाई ६.४ सेन्ट (USD) प्रति युनिट दरमा विद्युत् बिक्री गर्दै आएको छ ।
यसअघि भएको सम्झौता अनुसार नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म वर्षायामको पाँच महिनामा मात्र बंगलादेशलाई बिजुली पठाउने व्यवस्था छ । उत्पादन मौसमी भएकाले हिउँदयाममा उपलब्धता कम हुने भएकाले निर्यात समय सीमित राखिएको हो ।
२०७८ जेठ ११ गते दुवै देशबीच जलस्रोत क्षेत्रको विकासमा सहकार्य गर्ने समझदारी बनेको थियो । त्यसपछि २०७९ जेठ २ मा सम्पन्न पाँचौँ निर्देशक समितिको बैठकले ४० मेगावाट विद्युत् व्यापारको बाटो खुलेको थियो ।
नेपालले भारतमार्फत बंगलादेशसँग उर्जाव्यापार गर्न थालेको यो प्रारम्भिक सहकार्यलाई दुवै मुलुकका अधिकारीले दक्षिण एसियाली उर्जा बजारतर्फको कदम मानेका छन् ।
थप बिजुली निर्यातले नेपालको जलविद्युत् निर्यात बजार विस्तार हुने, बंगलादेशको ऊर्जा सुरक्षामा सहयोग पुग्ने, भारतमार्फत त्रिपक्षीय उर्जा व्यापार अझ सुदृढ हुने आशा व्यक्त गरिएको छ।

















