Logo

१० मंसिर, काठमाडौं । गत साताभर परेको अविरल वर्षाका कारण आएको विनाशकारी बाढी र पहिरोले श्रीलंकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार यो पछिल्ला वर्षहरूमा देखिएकामध्ये सबभन्दा भीषण मौसम विपद् मानिएको छ। हालसम्म यस विपत्तिमा कम्तीमा ५६ जनाको दुःखद निधन भएको छ भने २१ जना अझै बेपत्ता छन् । विशेषगरी श्रीलंकाको चियाबारी क्षेत्र बडुल्लामा रातारात गएको पहिरोले घरहरू बगाउँदा मात्रै २१ जनाले ज्यान गुमाएका छन्, जसको पुष्टि स्थानीय प्रकोप व्यवस्थापन केन्द्रले गरेको छ । सामाजिक सञ्जालमा आएका भिडिओहरूमा बाढीको भेलले घरहरू बगाउँदै गरेको देखिन्छ भने देशभर अधिकांश रेल सेवाहरू स्थगित गरिएका छन् ।

यस विपत्तिको क्रममा प्रकोप व्यवस्थापन केन्द्रका अनुसार हालसम्म देशभर करिब ४४ हजार मानिस प्रभावित भएका छन् । उनीहरूको उद्धार र राहतका लागि करिब २० हजार ५०० सेना परिचालन गरिएको छ । अहिले श्रीलंका मनसुनको सिजनमा रहे पनि यति तीव्र चरम मौसम कमै देखिन्छ । यसअघि सन् २००३ को जुन महिनामा आएको शताब्दीकै सबभन्दा ठूलो बाढीमा २५४ जनाको मृत्यु भएको थियो ।

यसैबीच, श्रीलंकाको पूर्वी तटनजिकै चक्रवात सर्ने क्रममा रहेकाले शुक्रबार थप खराब मौसम आउने चेतावनी दिइएको छ । यो चक्रवात भारततर्फ सर्दै जाने अनुमान गरिएको छ। नदीहरूको सतह लगातार बढ्दै गएकोले प्रकोप व्यवस्थापन केन्द्रले तल्लो भूभागमा बस्नेहरूलाई सुरक्षित उचाइमा सर्न आग्रह गरेको छ । सिँचाइ विभागका अनुसार आगामी ४८ घन्टाभित्र राजधानी कोलम्बो सहित केलानी नदी आसपासका तल्लो बस्ती लाई उच्च जोखिममा राख्दै सतर्कता सूचना जारी गरिएको छ ।

मौसम विभागका अनुसार शुक्रबार श्रीलंकाका मध्य र उत्तर–पूर्वी भागका केही स्थानमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान छ, जसले गर्दा प्रमुख राजमार्गहरू बन्द गरिएका छन् भने शुक्रबार बिहान ६ बजेदेखि अत्यावश्यक केही सेवाबाहेक सबै रेल सेवा रद्द गरिएको रेल्वे विभागले घोषणा गरेको छ ।


सम्बन्धित समाचार