Logo

१२ मंसिर, काठमाडौं । औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ज्वरो र दुखाइ कम गर्ने औषधि प्यारासिटामोल ट्याब्लेट (सेटोफेन, ब्याच नं. सीटी २७२३) लाई न्यून गुणस्तरको ठहर गर्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको औषधि गुणस्तर मापदण्डभन्दा कमजोर पाइएपछि विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम यसको बिक्री–वितरण रोक्का गर्ने आधिकारिक निर्णय गरेको हो । चिन्ताको विषय के छ भने, यो गुणस्तरहीन औषधिको उत्पादन मिति सन् २०२३ जुन र म्याद सकिने मिति सन् २०२६ मे रहेको छ ।

अर्थात्, म्याद गुज्रन करिब ६ महिना मात्र बाँकी रहँदा यो औषधि अढाइ वर्षदेखि बजारमा निर्वाध रूपमा बिक्री भइरहेको थियो । औषधि ऐनको दफा १२ ले हरेक औषधि सुरक्षित, प्रभावकारी र गुणस्तरीय हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ र गुणस्तरहीन ठहरिएमा उत्पादकले आफैं फिर्ता लिनुपर्ने हुन्छ ।

यद्यपि, परीक्षण प्रक्रियामा हुने ढिलाइका कारण न्यून गुणस्तरका औषधिहरू लामो समयसम्म उपभोक्ताको पहुँचमा रहने गरेको भन्दै स्वास्थ्य विज्ञहरूले गम्भीर प्रश्न उठाएका छन् । स्वास्थ्य विज्ञहरूका अनुसार प्रयोगशालाले पहिचान गरेभन्दा धेरै गुणस्तरहीन औषधि बजारमा रहेको र यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने खतरा छ । विभागले यसअघि पनि विभिन्न कम्पनीका दर्जनौं ब्याचका औषधिहरू रिकल गरिसकेको छ, तर उपभोक्ता तथा स्वास्थ्यकर्मीहरूले परीक्षण प्रक्रियालाई थप तीव्र र प्रभावकारी बनाउनुपर्ने माग निरन्तर दोहोर्‍याउँदै आएका छन् ।


सम्बन्धित समाचार