Logo

१२ मंसिर, काठमाडौं । नेपालको राजनीतिमा अर्को नयाँ वैकल्पिक शक्ति, उज्यालो नेपाल पार्टी, आगामी मंसिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ।

हाल ऊर्जा मन्त्रीको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ संरक्षक रहेको यो पार्टीको घोषणा सभा काठमाडौंको प्रज्ञा भवन, कमलादीमा दिउँसो १ बजेदेखि ४ बजेसम्म आयोजना हुनेछ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार, पार्टी घोषणा कार्यक्रमका प्रमुख अतिथि स्वयं ऊर्जा मन्त्री कुलमान घिसिङ रहनेछन् । सोही अवसरमा उज्यालो नेपाल पार्टीले आफ्नो दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गर्ने जनाइएको छ ।

पार्टीका नेताहरूले वितरित विज्ञप्तिमा आफूहरू दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्र नआएको दाबी गरेका छन् । उनीहरूले आफूसँग उज्यालो सपनालाई साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव रहेको र आम नेपाली जनताले विश्वास तथा भरोसा गरेको, कामबाट प्रमाणित नेतृत्व (कुलमान घिसिङ) रहेको उल्लेख गरेका छन् ।

साथै, उज्यालो नेपाल पार्टीले समान सोच र दृष्टिकोण भएका अन्य नयाँ तथा वैकल्पिक राजनीतिक दल, संघ, संगठन र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको बताएको छ।


सम्बन्धित समाचार