काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आज सम्पन्न खेलमा काठमाण्डु गोर्खाजले चितवन राइनोजमाथि ५३ रनको शानदार जित दर्ता गरेको छ ।
टियू क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु गोर्खाजले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १४२ रन को मध्यम योगफल तयार पारेको थियो । काठमाण्डुका लागि जोन सिम्प्सनले उत्कृष्ट प्रदर्शन गर्दै २९ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६० रन जोडेका थिए । उनले मिलिन्द कुमार (३८ रन) सँग मिलेर चौथो विकेटका लागि ९८ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । चितवनका बलर सोहिल तन्विरले उत्कृष्ट बलिङ गर्दै २५ रन खर्चेर ४ विकेट लिएका थिए ।
जवाफमा १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजको ब्याटिङ पूर्ण रूपमा धराशायी भयो र टोली १७ ओभर २ बलमा मात्र ८९ रन मा अलआउट हुन पुग्यो। चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१–२१ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
काठमाण्डु गोर्खाजका बलरहरूले चितवनको पारीलाई सस्तैमा समेट्न सफल भए । रसिद खानले सर्वाधिक ३ विकेट लिए भने कप्तान करण केसी, शाहव आलम र मिलिन्द कुमारले २(२ विकेट लिएर जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । यो जितसँगै काठमाण्डुले जारी लिगमा तेस्रो जित निकालेको छ भने चितवन राइनोजले भने लगातार तेस्रो हार बेहोरेको छ ।

















