Logo

१२ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर कटाक्ष गर्दै जनतालाई उनीहरूबाट सचेत रहन आह्वान गरेका छन् ।

पार्टीको सुदूरपश्चिमस्तरीय सभालाई धनगढीमा सम्बोधन गर्दै रावलले आगामी निर्वाचनमा जनतालाई धम्क्याउने र थर्काउने ओली प्रवृत्तिबाट सचेत रहन आग्रह गरे । नेता रावलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जेनजी आन्दोलन को समयमा सुरक्षा परिषद् बैठकसमेत बोलाउन नसकेर बालुवाटारबाट हेलिकप्टर चढेर भागेको गम्भीर आरोप लगाए। उनले भने, ‘सुरक्षा परिषद्को बैठकसमेत डाक्न नसकेर बालुवाटारबाट हेलिकप्टरबाट भाग्ने केपी ओलीजी जस्ता भक्तपुरको कुनामा बसेर जनतालाई धमक्याउने थर्काउनेलाई रोक्न तपाईंहरू सचेत हुनुस्।’

यसै क्रममा, रावलले आफ्नो पार्टी निर्वाचनका लागि तयार रहेको स्पष्ट पार्दै अन्तरिम सरकारलाई चुनाव निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि बाहिर रहेका गोलीगठ्ठा तत्काल नियन्त्रणमा लिन माग गरेका छन् । उनले नेपाली कम्युनिस्ट पार्टीले जेनजी र युवाहरूको आवाज बोक्ने तथा भ्रष्टाचारी र कुशासन ल्याउनेहरूलाई खबरदारी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार