१४ मंसिर, काठमाडौँ । पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध (गाँजा) सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार पक्राउ परेका व्यक्ति भारत बिहार राज्य, बेतिया जिल्लास्थित मुसहरीका ६५ वर्षीय गामा बिन हुन्।
गए राति झण्डै ९ बजेतिर अस्थायी प्रहरी पोस्ट शंकरसरैयाँबाट प्रहरी सहायक निरीक्षक बिकाउ साहको नेतृत्वमा गस्तीमा रहेको टोलीले शंकरसरैयाँ गाउँ नजिकै खेतबारिको बाटो हुँदै भारिया मार्फत गाँजा बोकेर ल्याउँदै गरेको अवस्थामा बिनलाई दुई बोरा गाँजासहित पक्राउ गरेको हो।
पक्राउ परेका बिनले गाँजा भारततर्फ लैजाँदै गरेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ। पक्राउ गरिएको लागुऔषध तथा बिनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको निरीक्षक थापाले जानकारी दिए।

















