Logo

१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनको विषयमा देखिएको गहिरो विवाद समाधान गर्न सभापति शेरबहादुर देउवाले आज पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक आह्वान गरेका छन् ।

एक महिनासम्म पार्टी गतिविधिमा खासै सक्रिय नदेखिएका देउवाले महाधिवेशनबारे विवाद झन् बढ्दै गएपछि पुनः सक्रियता देखाउँदै दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा बैठक बोलाएका हुन्। यस बैठकमा इतर समूहका नेता डा.शेखर कोइराला, निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतका पदाधिकारी र पूर्वपदाधिकारी नरहेका वरिष्ठ नेताहरूलाई पनि बोलाइएको छ ।

कांग्रेसभित्र आगामी १५ औँ महाधिवेशन फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनअगाडि गर्ने वा निर्वाचनपछि मात्रै गर्ने भन्ने विषयमा विवाद चर्किरहेको छ । पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला जस्ता संस्थापन पक्षका केही नेताहरू निर्वाचनअगाडि महाधिवेशन गर्न नहुने अडानमा रहेका थिए ।

यद्यपि, पार्टीको विवाद समाधानका लागि मध्यमार्गी नेताहरूको प्रयासपछि संस्थापन पक्षका अन्य नेताहरू निर्वाचनअगाडि नै महाधिवेशनको प्रक्रिया सुरु गर्न सहमत भएका छन्। तर, निधि र सिटौलाको सहमति नहुँदा समस्या यथावत् रहेको एक नेताले जानकारी दिएका छन् । देउवाको आह्वानमा हुने आजको यो छलफलले पार्टीको नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयलाई टुङ्गो लगाउने तयारी रहेको कांग्रेस नेताहरूले बताएका छन् ।


सम्बन्धित समाचार