Logo

१४ मंसिर,वीरगञ्ज । जनता सडक (जीतपुर–सोनबर्षा–सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरु भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साका अनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया पूरा गरी निर्माण कार्य अगाडि बढाइनेछ।

स्थानीय बासिन्दाले लामो समयदेखि माग गर्दै आएको सडक पुनर्निर्माण र स्तरोन्नति प्रक्रियाले गति लिन थालेपछि क्षेत्रका नागरिकमा उत्साह देखिएको छ। नापी कार्य सुरू भएपछि परियोजनाको प्रशासनिक चरण स्पष्ट रूपमा अघि बढेको जनाइएको छ।

पटेर्वा सुगौली गाउँपालिका वडा नं २ का वडाध्यक्ष बिजय गैरेले सर्भेक्षण टोलीसँगको फोटो फेसबुकमार्फत साझा गर्दै खुशी व्यक्त गरेका छन्। उनले भौतिक पूर्वाधार विकास कार्यालय पर्साबाट प्राप्त जानकारीअनुसार दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न भएर निर्माण कार्य सुरु हुने जानकारी सार्वजनीक गरेका छन्।

वडाध्यक्ष गैरेले भने, “यस महत्वपूर्ण कार्यमा पहल र समर्थन पुर्‍याएका सबै सम्माननीय व्यक्ति, जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।”

जनता सडकको मर्मत र कालोपत्रे कार्य पूरा भएपछि स्थानीय आवागमन सहज हुने, व्यापारिक गतिविधि बढ्ने र समग्र क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार