१४ मंसिर, काठमाडौं । श्रीलंकामा आएको ‘दित्वाह’ नामको शक्तिशाली समुन्द्री आँधीपश्चात् बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।
त्यहाँको विपद् व्यवस्थापन केन्द्रलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अहिलेसम्म यस प्राकृतिक प्रकोपमा परी १९३ जनाको मृत्यु भइसकेको छ भने २०० जनाभन्दा बढी मानिस बेपत्ता छन् । प्रकोपका कारण २० हजारभन्दा बढी घरहरू क्षतिग्रस्त भएका छन् र देशका करिब एक तिहाइ भागमा बिजुली र खानेपानीको आपूर्ति ठप्प भएको छ ।
खराब मौसमी प्रकोपसँग जुधिरहेको श्रीलंकामा सरकारले आपतकाल घोषणा गरेको छ। प्रभावित क्षेत्रका करिब १ लाख ८ हजार मानिसहरूलाई अस्थायी शिविरहरूमा राखिएको छ । विशेषगरी क्यान्डी र बदुल्ला क्षेत्रमा मृत्यु हुनेको संख्या धेरै छ, जबकि अनुराधापुरामा पानीमा डुबेको एक बसबाट ६९ जनालाई सफल उद्धार गरिएको थियो ।
केलानी नदीको जलस्तर द्रुत गतिमा बढिरहेकाले सरकारले त्यस क्षेत्रका मानिसहरूलाई अन्यत्र सुरक्षित स्थानमा सार्न निर्देशन दिएको छ । श्रीलंकाली सरकारले यो भयानक संकटको सामना गर्न अन्तर्राष्ट्रिय सहायताका लागि अपील गर्दै विदेशमा रहेका आफ्ना नागरिकहरूलाई पनि सहयोगका लागि आह्वान गरेको छ ।

















