१५ मंसिर, काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारका लागि इजाजतपत्र लिन इच्छुक फर्म, कम्पनी तथा संस्थालाई आवेदन दिने म्याद थप गरेको छ। विभागले मंसिर २७ गतेसम्म आवेदन दिने समयसीमा थप गरेको हो ।
यसअघि विभागले असोज १३ गते सूचना जारी गर्दै घरजग्गासम्बन्धी कारोबारका लागि सार्वजनिक आह्वान गरेको थियो। मालपोत ऐन, २०३४ को व्यवस्थाअनुसार सरकारद्वारा राजपत्रमा सूचना प्रकाशित भएसँगै व्यवसायिक रूपमा घरजग्गा किनबेच गर्ने कम्पनीहरूको कार्यक्षेत्र तोकिएको थियो। विभागले पहिलो चरणमा देशभरका छवटा महानगरपालिका र ११ उपमहानगरपालिकालाई कार्यक्षेत्रका रूपमा परिभाषित गरेको छ।
विभागका अनुसार एकपटकमा तीन करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ। घर–जग्गा कारोबारलाई पारदर्शी, मर्यादित र वैज्ञानिक बनाउने लक्ष्यसहित इजाजतपत्र प्रणालीलाई व्यवस्थित बनाउने तयारी विभागले गरेको छ।
यसअघि प्रकाशित सूचनाअनुसार अपेक्षाकृत न्यून आवेदन परेकाले म्याद थपिएको विभागले स्पष्ट पारेको छ। पहिलो चरणमै महानगर र उपमहानगरका क्षेत्रमा रहेको अव्यवस्थित कारोबारलाई नियन्त्रण गर्दै सुचीकृत कम्पनीमार्फत व्यवस्थित कारोबार प्रणाली लागू गर्न विभागले दर्ता प्रक्रियालाई तीव्रता दिएको छ।
विभागका तथ्यांक अनुसार गत कात्तिक महिनामा घर–जग्गा कारोबारबाट मात्रै दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।
विभागका अनुसार व्यवस्थित र अनुमतिप्राप्त कम्पनीमार्फत कारोबार सञ्चालन हुन थालेमा राजस्व वृद्धि, उपभोक्ता सुरक्षा र व्यवसायिक पारदर्शितामा ठूलो सुधार आउने अपेक्षा गरिएको छ।

















