१५ मंसिर, काठमाडौँ । भदौ २४ गतेको जेनेरेशनज (जेनजी) आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी घटनामा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव पक्राउ परेका छन्।
विघटित प्रतिनिधि सभाका तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी)का सांसद मोदीका स्वकीय सचिव ताजिम अन्सारी तोडफोड र आगजनीको घटनामा प्रत्यक्ष संलग्न भएको आरोपमा पक्राउ परेका हुन्। अन्सारीसहित महेश नेपाल, आवास पौडेल, राजिव यादव र अरुण साह सोनार गरी पाँचजनालाई मोरङ जिल्ला अदालत र अन्य सरकारी कार्यालयमा आगजनी गरेको आरोपमा आइतबार प्रहरीले पक्राउ गरेको छ।
मोरङ प्रहरीका अनुसार अन्सारी उक्त घटनामा संलग्न भइरहँदा उनी तत्कालिन माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य अमनलाल मोदीका स्वकीय सचिवको जिम्मेवारीमा थिए। प्रहरी स्रोतले घटनामा उनको प्रत्यक्ष संलग्नता देखाउने भिडियोहरू सार्वजनिक भइसकेको जानकारी दिएको छ।
उक्त भिडियोमा अन्सारीले कोशी प्रदेश सभाभित्र भएको आगजनी र तोडफोडको क्रममा नेपाल प्रहरीको टोपी लगाएर उल्लास मनाएको दृश्य समेत देखिएको छ। प्रहरीका अनुसार उनीसहित पक्राउ परेका व्यक्तिहरूले आन्दोलनमा घुसपैठ गरी अन्य युवाहरूलाई आगजनी र अराजकताका लागि हौस्याएका थिए।
मोरङका सरकारी भवनहरूमा आगजनी गर्ने २१ जना यसअघि नै पक्राउ परिसकेका थिए। प्रहरीले पक्राउ परेका अन्सारीसहित पाँचजनामाथि थप अनुसन्धान जारी राखेको जनाएको छ।
यस घटनापछि स्थानीय प्रशासन र सुरक्षा निकायले सरकारी कार्यालयको सुरक्षा व्यवस्था अझ कडा पार्ने र भविष्यमा यस्ता हिंसात्मक गतिविधि रोक्न आवश्यक कदम चालिने बताएका छन्।

















