१५ मंसिर, काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा अचानकको घटनाक्रमसँगै प्रभु बैंक मा नेतृत्व परिवर्तन भएको छ । बैंकका वरिष्ठतम कर्मचारी निरज लम्साललाई सञ्चालक समितिले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी सुम्पेको छ ।
यो निर्णय बैंकका बहालवाला प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन लाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैरकानुनी कारोबारको आरोपमा पक्राउ गरेपछि आएको हो । सीआईबीले प्रभु ग्रुपअन्तर्गत सञ्चालित प्रभु म्यानेजमेन्ट फन्ड को गैरकानुनी कारोबारको विषयमा अनुसन्धान अगाडि बढाउँदै सीईओ शेरचनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्ने अन्य व्यक्तिहरूमा नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका सञ्चालक देवीप्रसाद भट्टचन र प्रभु म्यानेजमेण्ट प्रालिको खाता सञ्चालक हेमकुमार महाजु रहेका छन् । यसरी बैंकको उच्च नेतृत्व नै अनुसन्धानको घेरामा परेपछि बैंकको दैनिक कार्य सञ्चालनलाई निरन्तरता दिनका लागि वरिष्ठ कर्मचारी लम्साललाई कामु सीईओको भूमिका दिइएको हो ।
यद्यपि, प्रभु बैंकले आधिकारिक विज्ञप्ति जारी गर्दै यो अनुसन्धानका कारण बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, शेयरधनी तथा ग्राहकहरूको हितमा कुनै पनि नकारात्मक असर नपर्नेमा आश्वस्त पारेको छ । बैंकले आफ्नो वित्तीय सुशासन र ग्राहक सेवामा कुनै कमी आउन नदिने प्रतिबद्धता व्यक्त गरेको छ, तर सीईओ शेरचनको पक्राउले बैंकको कर्पोरेट गभर्नेन्समा भने गम्भीर प्रश्न खडा गरेको छ ।

















