१५ मंसिर, काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–४, कटैयाचौरीमा २७ वर्षीया रोशनी झा को शंकास्पद मृत्यु भएको घटनाले तनाव उत्पन्न गरेको छ । गत बिहीबार राति घरमै मृत फेला परेकी रोशनीको मृत्यु आत्महत्या वा हत्या भन्ने विषयमा विवाद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ र मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको छ ।
मृतक रोशनीका घरका सदस्यहरूले उनले पासो लगाएर आत्महत्या गरेको भन्दै माइती पक्षलाई जानकारी दिएका थिए। तर, रोशनीको माइत (धनुषाको नगराइन नगरपालिका–२, जटही) पक्षले भने घरका सदस्यहरू मिलेर उनको हत्या गरेको गम्भीर आरोप लगाएको छ। रोशनीको चार वर्षअघि विवाह भएका पति प्रशान्त मिश्र (जो मधेश प्रदेशको नीति तथा योजना आयोगका कर्मचारी हुन्) र ससुरा रुद्रनारायण मिश्र विरुद्ध माइती पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् ।
उजुरीका आधारमा प्रहरीले आइतबार दुवै जनालाई नियन्त्रणमा लिएको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बम ले माइती पक्षबाट असुरक्षित महसुस भएकाले उनीहरूलाई सुरक्षाका लागि नियन्त्रणमा लिइएको बताए पनि घटनाबारे अनुसन्धान जारी रहेको स्पष्ट पारेका छन् । बमका अनुसार, अहिले मृतकको घाँटीमा डाम मात्र देखिएको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र घटना हत्या हो वा आत्महत्या भन्नेबारे निष्कर्षमा पुग्न सकिनेछ ।
यता, रोशनीका मामा प्रदीप चौधरी ले भने घटनाको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको र प्रमाण नष्ट गर्ने उद्देश्यले रोशनीका कपडाहरू समेत जलाइएको दाबी गर्दै घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

















