Logo

१६ मंसिर, काठमाडौं । सहकारी संस्थामा बचत गरेको रकम फिर्ता नपाएर मर्कामा परेका सहकारीपीडितहरू ले आफ्नो आन्दोलनलाई निरन्तरता दिँदै सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

बचतकर्ताहरूले मंसिर ५ गतेदेखि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलय (बुद्धनगर) अगाडि प्रदर्शन जारी राखेका हुन् । उनीहरूको मुख्य मागहरूमा सहकारीमा जम्मा गरिएको बचत रकम तत्काल फिर्ता गर्नुपर्ने र रकम हिनामिना गर्ने सञ्चालकहरूलाई कडा कारबाही गर्नुपर्ने रहेका छन् । आन्दोलनमा सहभागी बनेपाको पशुपति सहकारी का पीडित राजकुमार ढकाल ले आफ्नो १८ लाख रुपैयाँ डुबेको पीडा सुनाए, जुन रकम उनले छोराछोरीको पढाइका लागि राखेका थिए । ढकालले विगत तीन वर्षदेखि सहकारी बन्द भएपछि आफूहरूले पटक(पटक आन्दोलन गरेको, जसमा रत्नपार्कमा १०८ दिन र तीनकुनेमा ६३ दिनसम्म धर्ना दिएको जानकारी दिए ।

पीडितहरूले सरकारले पटकपटक वार्ता गरे पनि आफ्नो माग पूरा गर्न ठोस कदम नचालेकोमा निराशा व्यक्त गरेका छन् । बचत फिर्ता नहुँदा कतिपय पीडितहरू डिप्रेसनको शिकार समेत बनेको गुनासो ढकालले गरेका छन् । यसरी वर्षौंदेखि बचतकर्ताहरूको करोडौं रकम डुब्दा समेत सरकारले प्रभावकारी समाधान दिन नसक्नुले सहकारी क्षेत्रको नियमन र सरकारी प्रतिबद्धतामाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ ।


सम्बन्धित समाचार