१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्र बढ्दो दबाब विशेष महाधिवेशनको माग र पार्टी विभाजनको जोखिम देखेपछि आफ्नो अडानबाट पछि हट्दै निर्वाचनअगाडि नै १५औँ महाधिवेशन गराउन तयार हुनुभएको छ ।
जेन–जी आन्दोलनअघि उहाँको चाहना ०८३ मंसिरतिर मात्र महाधिवेशन गराउने र विधानको सुविधा प्रयोग गरी कार्यकाल एक वर्ष बढाउने थियो । तर, भदौको जेन–जी आन्दोलनपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताहरूले नेतृत्व र नीति बदल्न निर्वाचनअगाडि नै महाधिवेशन हुनुपर्ने दबाब बढाए ।
नेतृत्व परिवर्तनको अभियान अन्तर्गत विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको हस्ताक्षर संकलन (विधानमा ४० प्रतिशत प्रतिनिधिले माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । सुरु भएपछि देउवामाथि ठूलो दबाव सिर्जना भयो । महामन्त्रीहरूको दबाब, हस्ताक्षर संकलन र संस्थापन पक्षकै २९ केन्द्रीय सदस्यहरूले समेत निर्वाचनअगाडि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएपछि देउवाले ‘यु–टर्न’ लिनुभएको हो । पार्टी विभाजन हुने र विशेष महाधिवेशन भएर आफूलाई नेतृत्वबाट हटाइएको सन्देश जाने जोखिम देउवाले देखेका थिए ।
सिंगापुरबाट फर्केपछि देउवाले आफ्ना र इतर खेमाका नेताहरूसँगको भेटघाट र विश्लेषणपछि विशेष महाधिवेशन टार्नकै लागि निर्वाचनअगाडि नै नियमित महाधिवेशन गर्ने निष्कर्ष निकाल्नुभयो । उहाँकै निर्देशनपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले सोमबारको केन्द्रीय समिति बैठकमा पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गर्नुभयो, जुन सर्वसम्मतले पारित भएको छ ।
यद्यपि, देउवालाई पाँचपटक प्रधानमन्त्री बनाउन सहयोग गरेका विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला लगायतका पूर्वपदाधिकारीहरू भने यो निर्णयमा असन्तुष्ट रहेका छन्, उनीहरूले निर्वाचनअगाडि महाधिवेशन गर्न नहुने अडान राखिरहेका थिए । यसरी डेढ महिनादेखि जारी कांग्रेस बैठकको गतिरोधलाई तत्कालका लागि निकास मिलेको छ।

















