१६ मंसिर, वीरगञ्ज । आज डिसेम्बर २ विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ। आधुनिक विश्वमा अझै कायम रहेका दासत्वका विविध रूपबारे जनचेतना फैलाउँदै मानव शोषण अन्त्य गर्ने प्रतिवद्धता पुनः व्यक्त गर्ने उद्देश्यसहित यो दिवस मनाइन्छ ।
संयुक्त राष्ट्रसंघले सन् १९४९ डिसेम्बर २ मा मानव बेचबिखन तथा यौन शोषण रोकथामसम्बन्धी महासभा प्रस्ताव पारित गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइँदै आएको हो ।
राष्ट्रसंघका तथ्यांकअनुसार आज पनि विश्वभर करिब पाँच करोड मानिस आधुनिक दासत्वको जोखिममा छन्। तीमध्ये ठूलो संख्या महिला र बालबालिका छन्, जसलाई जबरजस्ती श्रम, घरेलु काम, कृषि, निर्माण, वस्त्र उद्योग, यौन शोषणजस्ता क्षेत्रमा उपयोग गरिने गरेको छ।
दासत्व अब पुरानो रूपमा मात्र सीमित छैन। मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, जबरजस्ती विवाह, बालश्रम, बालबालिकालाई द्वन्द्वमा भर्ती गर्नु यी सबै दासत्वका नयाँ स्वरूप मानिन्छन् । जातीय विभेद, चरम गरिबी, सामाजिक बहिष्कार र असमानताले केही समुदाय अझै पनि शोषणको उच्च जोखिममा छन्।
अन्तर्राष्ट्रिय रिपोर्टहरूका अनुसार वैदेशिक रोजगारमा गएका श्रमिक, असुरक्षित श्रमिक तथा कानुनी सुरक्षा नभएका प्रवासीहरू आधुनिक दासत्वका प्रमुख पीडित बन्दै आएका छन्। उनीहरूलाई कठिन श्रम, न्यून तलब, दुर्व्यवहार र बन्धनमा राखेर शोषण गरिनुपर्ने घटनाहरू बढ्दै गएको बताइन्छ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) ले आधुनिक दासत्व अन्त्य गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज र समुदायबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरेको छ।
पीडितको उद्धार, पुनःस्थापना, न्याय सुनिश्चितता र दीर्घकालीन सुरक्षालाई प्राथमिकता दिनुपर्ने ILO को आग्रह छ।
नेपालमा समेत समय–समयमा मानव तस्करी, जबरजस्ती श्रम र बालश्रमका घटना देखिने भएकाले अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवसले यस्तो शोषणको विरुद्ध थप प्रभावकारी नीति तथा कार्यान्वयन आवश्यक रहेको संकेत गरेको छ।

















