१६ मंसिर,काठमाडौं । दक्षिण तथा दक्षिण–पूर्वी एशियाका इन्डोनेशिया, श्रीलङ्का, थाइल्यान्ड र मलेशिया भीषण बाढी–पहिरोको चपेटामा परेका छन्। लगातार वर्षा र चक्रवातका कारण उत्पन्न प्रकोपले हालसम्म साढे ११ सयभन्दा बढीको ज्यान गइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। हजारौं घाइते छन् भने धेरै नागरिक अझै बेपत्ता छन्।
कतारी सञ्चारमाध्यम अल जजिराका अनुसार सुमात्रासहित इन्डोनेशियाका विभिन्न क्षेत्रमा मात्रै ६ सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन्। श्रीलङ्कामा करिब ३ सय ५०, थाइल्यान्डमा १ सय ७६ र मलेशियामा ३ जनाको मृत्यु पुष्टि भएको छ।
इन्डोनेशिया र श्रीलङ्काले सेना परिचालन गर्दै उद्धार तथा राहत कार्यलाई तीव्र पारेका छन्। धेरै स्थानमा सडक अवरुद्ध, विद्युत् तथा सञ्चार सेवा ठप्प भएपछि हवाई तथा डुङ्गा मार्गबाट आपतकालीन सामग्री पुर्याइँदैछ।
श्रीलङ्कामा मात्रै झन्डै ११ लाख मानिस प्रभावित भएको र सरकारद्वारा राष्ट्रिय आपतकाल घोषणा गरिएको खबरमा उल्लेख छ। बाढी–पहिरोले विद्यालय, पुल, घर, खेतबारी लगायत व्यापक भौतिक क्षति पुगेको छ।
हजारौं बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन्। मौसम विभागका अनुसार केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना कायम रहेकाले उद्धार तथा राहत कार्य थप चुनौतीपूर्ण बन्दै गएको बताइएको छ।

















