Logo

१६ मंसिर, काठमाडौं । तीन दिनअघि सुमो गाडी लिएर बेपत्ता भएका ललितपुर, महालक्ष्मी नगरपालिका–८ लुभुका अन्दाजी ४० वर्षीय दीपेन्द्र केसीको शव उदयपुरको कटारी–१४ पाखेमारा भीरमा भेटिएको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार सोमबार साँझ सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्डबाट करिब तीन सय मिटर तल उहाँले चलाएको ना १ ज ५८१२ नम्बरको सुमो गाडी क्षतिग्रस्त अवस्थामा फेला परेको थियो, सोही सुमोसँगै केसीको शव पनि भेटिएको हो । केसी १३ मंसिरमा उदयपुरको ताप्ली गाउँपालिका रुपाटारमा जन्ती लिनका लागि रिजर्भ गरेर एक्लै सुमो लिएर हिँड्नुभएको थियो । शनिबार राति सिन्धुलीको खुर्कोट प्रहरी बिटमा इन्ट्री गरेपछि उहाँ सम्पर्कविहीन हुनुभएको थियो । उहाँ बेपत्ता भएपछि श्रीमती सुशीला कार्की लगायतले प्रहरी तथा स्थानीयको सहयोगमा खोजी कार्य सुरु गरेका थिए । खोजीका क्रममा सोमबार साँझ पाखेभीरमा सुमो दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

प्रहरीको अनुमान अनुसार केसी शनिबार राति करिब १२ बजेतिर दुर्घटनामा परेको हुनसक्छ । पाखेभीर आसपास गाउँ नभएको र अनकन्टार भीर भएकाले दुर्घटना भएको लामो समयसम्म कसैले पनि पत्ता लगाउन सकेका थिएनन् । प्रहरीले मध्यराति नै भिरबाट शव निकालेर पोस्टमार्टमका लागि कटारी अस्पताल लगेको छ ।


सम्बन्धित समाचार