Logo

१७ मंसिर,काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ६ जना र एक कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड निर्माण कार्यमा अनियमितता भएको आरोपमा महानिर्देशक अधिकारीसँगै क्यानका निर्देशक मुरारी भण्डारी, उप–प्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सल्टिङ प्रालिका निर्देशक विजय थापा, इन्जिनियर गुरुदत्त थापा तथा अभियन्त्र कन्सल्टिङ प्रालि नयाँ बानेश्वरलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।

अख्तियारले विशेष अदालत काठमाडौंमा दायर गरेको मुद्दामा प्रतिवादीहरूलाई १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो कायम गरेको छ।

अख्तियारका अनुसार ईआईए (पर्यावरण प्रभाव मूल्याङ्कन) बिना आयोजना निर्माण गर्नु, निर्माण कार्यमा अनियमितता गर्नु लगायतका कसुर प्रमाणित भएका छन्, जसको विवरण अभियोगपत्रमा उल्लेख छ।

यसैबीच, आजै बयानका लागि अख्तियारको कार्यालय पुगेका क्यानका महानिर्देशक प्रदीप अधिकारी र तत्कालीन महानिर्देशक मुरारी भण्डारीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ।


सम्बन्धित समाचार