१९ मंसिर, काठमाडौँ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन अब ९० दिनमै आउँदैछ।
मिति नजिकिंदै जाँदा निर्वाचन आयोगदेखि राजनीतिक दलहरूसम्म तयारीको गति तीव्र बन्दै गएको छ। निर्वाचन कार्यक्रमअनुसार आयोगले कानुनी, व्यवस्थापकीय तथा प्राविधिक तयारीलाई प्राथमिकताका साथ अघि बढाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक निर्वाचन प्रणाली (पीआर) सम्बन्धी कार्यक्रम शनिबारदेखि प्रारम्भ हुँदैछ। यसअन्तर्गत मंसिर २१ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फका आवेदन दिने समयसीमा निर्धारण गरिएको छ। उक्त आवेदन दर्ता गर्ने दलहरूको सूची मंसिर २४ गते सार्वजनिक गरिनेछ।
समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने समयसीमा पुस १३ र १४ गते बिहान १० देखि साँझ ४ बजेसम्म रहनेछ। बन्दसूचीहरूको अन्तिम प्रकाशन भने माघ ३० गते हुने तय छ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ। उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ।
आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ। यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
प्रवक्ता भट्टराईका अनुसार निर्वाचन स्थल, मतदाता शिक्षा, मतपत्र तथा सामग्री व्यवस्थापन, सुरक्षायोजना, मतदान केन्द्र व्यवस्थापनलगायतका तयारी चरणबद्ध रुपमा अघि बढाइएका छन्। राजनीतिक दलहरूले पनि आगामी निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक संयोजन, उम्मेदवार छनोट प्रक्रिया तथा रणनीति निर्माण तीव्र बनाएका छन्।
आयोगले आगामी दिनमा जनमत संग्रहण, मतदाता शिक्षा अभियान र राजनीतिक दलसँगको अनुगमन तथा समन्वयलाई अझ सक्रिय बनाउने जनाएको छ। आगामी प्रतिनिधिसभा निर्वाचन सफल, स्वच्छ र विश्वसनीय बनाउन सबै निकायहरूलाई संयम, सहकार्य र जिम्मेवारीपूर्वक अघि बढ्न आयोगले आग्रह गरेको छ।

















