१९ मंसिर,काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि हिजो साँझ नयाँ दिल्ली आइपुग्नुभएको छ। उहाँलाई स्वागत गर्न प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम् पालम विमानस्थल पुगेका थिए। पुटिनको यो भारत–भ्रमण हाल भारत–अमेरिका सम्बन्ध केही तनावपूर्ण रहेको समयमा भएकोले अन्तर्राष्ट्रिय रूपमा निकै चासोका साथ हेरिएको छ।
आज हैदरावाद हाउसमा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिन तथा रूसी प्रतिनिधिमण्डलका लागि दिवाभोज आयोजना गर्नुभएको छ। दुवै देशका शीर्ष नेताहरूबीच हुने वार्तामा रणनीतिक तथा आर्थिक साझेदारी विस्तार, रक्षा सम्बन्ध सुदृढीकरण र द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट जोगाउने विषयहरू मुख्य एजेन्डामा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारत र रूसबीचको २३औँ शिखर सम्मेलनपछि व्यापार, उर्जा, रक्षा तथा प्रविधि क्षेत्रलगायत धेरै क्षेत्रमा समझदारीपत्रहरूमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। करिब २८ घण्टाको भारत बसाइपछि राष्ट्रपति पुटिन आज राति करिब साढे ९ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।
यसैबीच, पुटिनले युक्रेन संघर्षबारे कडा चेतावनी दिएका छन्। इन्डिया टुडेसँगको अन्तर्वार्तामा उहाँले युक्रेनी सेना डोनबास क्षेत्रबाट नहटेमा रूसी सेनाले ‘बलपूर्वक हटाउने’ बताउनुभयो। उहाँले युक्रेनसँगको कुनै पनि प्रकारको सम्झौता हाल स्वीकार्य नभएको स्पष्ट पार्नुभयो। हाल डोनबासको करिब ८५ प्रतिशत भूभाग रूसको नियन्त्रणमा रहेको बताइन्छ।

















