Logo

१९ मंसिर,मुम्बई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको कडा कर र विश्वव्यापी व्यापार अनिश्चितताबीच भारतको केन्द्रीय बैंक—रिजर्व बैंक अफ इन्डिया (आरबिआई)—ले शुक्रबार पुनः नीतिगत ब्याजदर घटाएको छ। मौद्रिक नीति समितिको बैठकले रेपो दर २५ आधार अंकले कम गर्दै ५.२५ प्रतिशत पुर्‍याउने निर्णय सर्वसम्मतिले पारित गरेको हो।

आरबिआईले कम मुद्रास्फीति, निर्यातमा गिरावट र बाह्य दबाबले भारतीय अर्थतन्त्रमा परेको चुनौतीलाई ध्यानमा राख्दै यो कटौती गरेको बताइएको छ। यसअघि यो वर्ष मात्र तीन किस्तामा १०० आधार अंकभन्दा बढी दर कटौती गरिसकेको हुँदा थप कटौती सहज नहुने केही विश्लेषकले अनुमान गरेका थिए। तर ट्रम्प प्रशासनको उच्च भन्सार शुल्क र व्यापार बाध्यताहरूले अर्थतन्त्रमाथि पार्न सक्ने नकारात्मक प्रभावले दर घटाउने वातावरण बनेको बताइन्छ।

आरबिआईका गभर्नर सञ्जय मल्होत्राले बैंकले खुला बजारमा करिब ११ करोड १० लाख डलर बराबरका सरकारी प्रतिभूति खरिद गर्ने निर्णय गरेको जानकारी दिए। साथै विदेशी मुद्रा बजारमा तरलता कायम राख्न तीन वर्षे डलर–रुपैयाँ स्वापमार्फत पाँच अर्ब डलर किनबेच गर्ने योजना पनि सार्वजनिक गरेका छन्। उनले मौद्रिक नीतिलाई ‘तटस्थ’ राख्दै आगामी महिनाहरूमा फेरि दर कटौतीको सम्भावना खुला रहेको संकेत पनि दिए।

भारत हाल कमजोर निर्यात, रूपैयाँमा अस्थिरता, सुस्त आर्थिक वृद्धि र व्यापार असन्तुलनजस्ता चुनौतीको सामना गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले उपभोग कर घटाउने, श्रम कानून सुधार गर्ने र घरेलु उद्योगलाई प्रोत्साहन दिने नीति अघि सारिसकेको छ।

यसबीच, आरबिआईको ताजा दर कटौतीले उद्योग क्षेत्र, निर्यातकर्ता र ऋणमा निर्भर उपभोक्ताका लागि केही राहत ल्याउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार