Logo

२० मंसिर,काठमाडौं । पाकिस्तानले चीनको अरुणाचल प्रदेशमाथिको दाबीलाई औपचारिक रूपमा समर्थन गरेको छ। डिसेम्बर ५ मा आयोजित नियमित पत्रकार सम्मेलनमा पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले चीनको “सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता” सम्बन्धी सबै मुद्दामा पाकिस्तान निरन्तर चीनको साथमा रहने बताएका छन्।

चीनले नोभेम्बर २५ मा अरुणाचल प्रदेशलाई आफ्नो भनिएको क्षेत्र ‘जाङनान’ रहेको दोहोर्‍याएपछि उत्पन्न विवादमा पाकिस्तानको अभिव्यक्ति खुलेर चीनको समर्थनमा आएको हो।

चीन–भारतबीच अरुणाचल विवादले तातेको माहोल

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले अरुणाचल प्रदेशलाई चीनको हिस्सा बताउँदै भारतको दाबी अस्वीकार गरेकी थिइन्। भारतीय मूलकी पेम वाङजोम थाङडोकसँग शांघाई एयरपोर्टमा भएको व्यवहारबारे उठेको प्रश्नको जवाफ दिंदै निङले चीनले अरुणाचललाई कहिल्यै भारतको राज्यको रूपमा नमान्ने स्पष्ट गरिन्।

भारतले भने कडा प्रतिक्रिया दिएकाे छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले अरुणाचल प्रदेश भारतको “अभिन्न र अविभाज्य” हिस्सा भएको बताउँदै चीनले बारम्बार इन्कार गरे पनि “सत्य नबदलिने” टिप्पणी गरेका छन्।

अरुणाचलको पासपोर्ट ‘अवैध’ भन्दै चीनको व्यवहार विवादास्पद

लन्डनबाट जापान जाँदै थिइन् भारतीय मूलकी पेम वाङजोम थाङडोक। शांघाई पुडोङ एयरपोर्टमा तीन घण्टाको ट्रान्जिटका क्रममा चिनियाँ अध्यागमनले उनको भारतीय पासपोर्टलाई “अवैध” भन्दै १८ घण्टासम्म रोक्यो।

चिनियाँ अधिकारीहरूले अरुणाचल प्रदेश चीनकै हिस्सा भएको भन्दै उनी “चिनियाँ पासपोर्ट”का लागि आवेदन दिनुपर्ने तर्क गरेका थिए। भारतले यस घटनामा कडा आपत्ति जनाएको छ।

अरुणाचल प्रदेश चीनका लागि किन महत्वपूर्ण ?

उत्तरी–पूर्वी भारतको सबैभन्दा ठूलो राज्य अरुणाचल प्रदेश तिब्बत, भुटान र म्यानमारसँग जोडिएको रणनीतिक क्षेत्र हो। चीनको विशेष चासो तवाङमा छ—जहाँ भुटान र तिब्बतको सीमा भेटिन्छ।

चीनको नाम परिवर्तन अभियान : ९० भन्दा बढी ठाउँको नाम फेरियो

चीनले केवल दाबीमा सीमित रहेन, पछिल्लो आठ वर्षमा अरुणाचल प्रदेशका ९० भन्दा बढी ठाउँको नाम परिवर्तन गरिसकेको दाबी गरिएको छ।

  • २०२३ मा—११ ठाउँको नाम

  • २०२१ मा—१५ ठाउँ

  • २०१७ मा—६ ठाउँ

  • २०२४ को मे महिनामा—२७ ठाउँ (पहाड, सहर, दर्रा, नदी, ताल)

चीनले यी नामहरू म्यान्डरिन, तिब्बती र पिनयिन रूपमै जारी गर्दै आएको छ।

भारतीय विदेश मन्त्रालयले चीनको नाम परिवर्तन कार्यलाई “मूर्खतापूर्ण र प्रभावहीन” भन्दै आलोचना गरेको छ।

नाम परिवर्तनका अन्तर्राष्ट्रिय नियम के भन्छन् ?

कुनै देशले आधिकारिक रूपमा भौगोलिक नाम परिवर्तन गर्न चाह्यो भने उसले संयुक्त राष्ट्रसंघको ग्लोबल जियोग्राफिक इन्फर्मेसन म्यानेजमेन्ट (UNGGIM) लाई जानकारी दिनुपर्छ।

  • विशेषज्ञ टोलीले स्थल भ्रमण गर्छ

  • स्थानीय समुदायसँग परामर्श हुन्छ

  • तथ्य प्रमाणित भएपछि मात्र नाम दर्ता गरिन्छ

चीनले जारी गरेका नामहरू अन्तर्राष्ट्रिय रूपमा मान्य नमानिनुको मुख्य कारण यही औपचारिक प्रक्रियाको अभाव हो।

भारत–चीन सीमामा फेरि तनावको संकेत

पाकिस्तानले खुलेर चीनको समर्थन गरेपछि दक्षिण एसियामा भारत–चीन सम्बन्धझैँ कूटनीतिक ध्रुवीकरण झनै गहिरिने विश्लेषकहरूको आकलन छ।

अरुणाचल प्रदेश सम्बन्धी दाबी, पासपोर्ट विवाद र लगातार चलिरहेको नाम परिवर्तन अभियानले निकट भविष्यमा अरुणाचल क्षेत्रमा नयाँ तनावको संकेत दिएको देखिन्छ।द वायरबाट ।


सम्बन्धित समाचार