२० मंसिर, काठमाडौं। पाकिस्तान र अफगानिस्तानको तालिबान फोर्सेजबीच पुनः झडप भएको छ। गएराति भएको गोलीबारीपछि दुवै पक्षले संघर्ष–विराम उल्लंघन गरेको आरोप एक–अर्कामाथि लगाएका छन्, जसले दुई देशबीच रहेका पहिलेका तनाव पुनः चर्किएको संकेत दिएको छ।
बीबीसीका अनुसार, सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकमा स्थानीय नागरिकहरूलाई राति नै घर–छोडाइ अवस्था आउनु परेको छ। कन्धारस्थित एक अस्पताल स्रोतले चार जनाको शव अस्पतालमा ल्याइएको जानकारी दिएको समाचारमा उल्लेख छ।
दुवै पक्षले चार घण्टासम्म चलेको भिडन्तमा गोलीबारी भएको पुष्टि गरेका छन्। झडप कसले सुरु गर्यो भन्ने विषयमा भने पाकिस्तान र तालिबानबीच आरोप–प्रत्यारोप चलिरहेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मुशर्रफ जैदीले “तालिबानले बिना कुनै कारण गोली चलाएको” आरोप लगाएका छन्।
उता, तालिबानका प्रवक्ताले पाकिस्तानले आक्रमण सुरु गरेकाले आफूहरू जवाफ दिन बाध्य भएको दाबी गरेका छन्।
पाकिस्तानतर्फ भएको क्षतिको आधिकारिक विवरण आउन बाँकी छ। पछिल्ला केही महिनायता दुवै देशबीच साना–साना लडाइँ र सीमा झडप दोहोरिँदै आएका छन्। यसबीचमा तालिबान सरकारले पाकिस्तानमाथि अफगान भूमिमा प्रवेश गरी हवाई आक्रमण गरेको आरोप समेत लगाएको थियो।

















