२० मंसिर, वीरगञ्ज । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालले आँखा उपचारमा गुणस्तरीय र प्रभावकारी सेवा दिँदै आएको बताएका छन्।
वीरगञ्ज दृष्टि आँखा, नाक, कान तथा घाँटी अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले भारतका उत्तरी राज्यहरूको तुलनामा नेपालको आँखा उपचार सेवा विशिष्टीकृत र अब्बल रहेको उल्लेख गरे ।
“पञ्चायतकालपछि नेपालले आँखा उपचार क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ,” प्रथम राष्ट्रपति यादवले भने, “बिहार, उत्तरप्रदेश, पश्चिम बंगाललगायत भारतीय राज्यका विरामी उपचारका लागि नेपाल आउनुले यहाँको सेवा गुणस्तर पुष्टि गर्छ। यो हाम्रो लागि सकारात्मक उपलब्धि हो।”
उनले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले विरामीलाई दिँदै आएको सेवाको सराहना गर्दै त्यसलाई अझ सुधार र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। “विरामी ठूलो अपेक्षा बोकेर अस्पताल आउँछन्,” उनले भने, “त्यसैले यो पेसामा संलग्न व्यक्तिले कहिल्यै स्तरीय सेवामा सम्झौता गर्नुहुँदैन।”
डा. यादवले चिकित्सा पेसा केवल पैसा कमाउने माध्यम नभई मानवीय सेवाप्रति समर्पित हुनुपर्ने पवित्र पेसा भएको धारणा व्यक्त गरे। “यस पेशाप्रति आम नागरिकको पूर्ण विश्वास हुन्छ,” उनले भने, “त्यसैले यसलाई बदनाम नगरी मानव र समाज सेवामा केन्द्रित हुनुपर्छ।”
अस्पतालका कार्यकारी निर्देशक डा. भाइराजा श्रेष्ठले नवनिर्मित अत्याधुनिक भवनबाट आँखा, नाक, कान तथा घाँटीसम्बन्धी सेवा प्रवाह भइरहेको जानकारी दिए। “पछिल्लो एक दशकमा १३ लाखभन्दा बढी विरामीको उपचार गरिसकेका छौँ,” उनले भने, “एक लाखभन्दा बढी विरामीको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको छ।”
उनले आगामी दिनमा सेवा विस्तार गर्दै थप गुणस्तरीय उपचार उपलब्ध गराउने योजना रहेको बताए।
अस्पतालका मेडिकल निर्देशक डा. हरि शर्माले आर्थिक अभावका कारण कोही पनि विरामी दृष्टिविहीन नहोस् भन्ने भावनाका साथ सेवा प्रवाह गरिँदै आएको बताए।
यस अवसरमा आँखारोग विशेषज्ञ डा. राधाकृष्ण कोइराला र वीरसिंह थापालाई सम्मान गरिएको थियो। अस्पतालका अध्यक्ष विश्वराज गौतमले अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको बताए।

















