२१ मंसिर, वीरगञ्ज । वीरगञ्जस्थित रेडियो वीरगञ्जको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रेडियोको २३ औँ वार्षिकोत्सवको अवसरमा शनिबार रेडियो परिसरमा आयोजित कार्यक्रममा २७ जना महिलासहित २०८ जनाले रक्तदान गरेका छन्।
रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेका अनुसार कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन समाजसेवी राजेन्द्र भट्टराईले आफ्नो ५० औँ पटकको रक्तदान गर्दै गरेका थिए।
रेडियो वीरगञ्जका कार्यकारी अध्यक्ष ध्रुव साहले हरेक वर्षझैँ यस वर्ष पनि वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले रेडियोले मानवताको प्रवर्द्धन र सामाजिक उत्तरदायित्वको धर्म निर्वाह गर्दै निरन्तर रूपमा रक्तदान कार्यक्रम गर्दै आएको बताए।
“रक्तदाताको संख्या भन्दा पनि मानवीयताको भावनालाई आत्मसाथ गर्नु आवश्यक छ,” उनले भने, “युवा पुस्ता ठूलो संख्यामा विदेश पलायन भएको वर्तमान अवस्थामा पनि उल्लेखनीय सहभागितासहित कार्यक्रम सफल हुनु सकारात्मक पक्ष हो।”
अध्यक्ष साहले कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता तथा सहयोगी संघसंस्थाप्रति आभार व्यक्त गरे।
कार्यक्रममा वीरगञ्ज नर्सिङ क्याम्पस, साउथ सिटी हिमाल हस्पिटल, वीरगञ्ज हेल्थ केयरलगायत संस्थाले प्राविधिक सहयोग गरेका थिए ।

















