२२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो समय वाणिज्य बैंकहरूमा व्यक्तिगत आवासीय घरकर्जाको मागमा उल्लेख्य वृद्धि देखिएको छ ।
चालू आर्थिक वर्षको प्रथम त्रैमास (असोज मसान्त) सम्ममा आवासीय कर्जा २१ अर्ब ७६ करोड रुपैयाँले बढेको छ । गत वर्ष असोजसम्म ३ खर्ब १९ अर्ब ५८ करोड ३७ लाख रुपैयाँ रहेको यस्तो कर्जा समीक्षा अवधिमा ६.८१ प्रतिशतले वृद्धि भई ३ खर्ब ४१ अर्ब ३५ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
कर्जा वृद्धिको मुख्य कारण र बैंकहरूको अवस्था
नेपाल राष्ट्र बैंकले पहिलो घरको हकमा व्यक्तिगत आवासीय घर कर्जाको सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्याउनु र प्रणालीमा रहेको अधिक तरलताका कारण बैंकहरूले स्थिर ब्याज दरमा बहुवर्षीय घर कर्जा प्रवाह गर्न थाल्नु नै कर्जाको माग बढ्नुको मुख्य कारण रहेको बैंकरहरू बताउँछन् । बेस रेट सस्तो भएका बैंकहरूले अहिले साढे ५ प्रतिशतसम्मै पनि घरकर्जा उपलब्ध गराइरहेकाले साना कर्जाको माग बढेको छ ।
चालू आर्थिक वर्षको प्रथम त्रैमासमा सबैभन्दा बढी व्यक्तिगत आवासीय घर कर्जा सिद्धार्थ बैंकले २९ दशमलव २७ प्रतिशतले बढाएको छ। यसपछि एनएमबी बैंकले २५ प्रतिशत, सानिमा बैंकले २३ दशमलव ७१ प्रतिशत र ग्लोबल आईएमई बैंकले २२ दशमलव ८६ प्रतिशतले घरकर्जामा वृद्धि गरेका छन् ।
यद्यपि, परिमाणको हिसाबले हालसम्म सबैभन्दा बढी घर कर्जा एनआईसी एसिया बैंकले (४४ अर्ब ४८ करोड रुपैयाँ) प्रवाह गरे पनि उसको कर्जा अघिल्लो वर्षको तुलनामा २० दशमलव ६२ प्रतिशतले घटेको छ। दोस्रोमा ग्लोबल आईएमई बैंक (४३ अर्ब ९५ करोड) र तेस्रोमा राष्ट्रिय वाणिज्य बैंक (३१ अर्ब २० करोड) रहेका छन् ।
















