२४ मंसिर,काठमाडौं । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सात तले टेरा ड्रोन कार्यालय भवनमा मंगलबार भएको विनाशकारी आगलागीमा कम्तीमा २० जनाको मृत्यु भएको छ। घटनामा धेरैजना घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार जारी छ।
अग्नि नियन्त्रक अधिकारीहरूले आगलागीको वास्तविक कारण खुल्न बाँकी रहेको र अहिले अनुसन्धान भइरहेको बताएका छन्। प्रारम्भिक विवरणअनुसार, आगो पहिलो तल्लाबाट सुरु भएर केही मिनेटमै माथिल्लो तल्लाहरूमा फैलिएको थियो।
आगो लाग्दा सयौं कर्मचारीहरू भवनभित्रै रहेका थिए। धुवाँ र आगोले फसेपछि धेरैले झ्यालबाट हाम फालेर ज्यान बचाउने प्रयास गरे, जसका कारण केहीको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। उद्धारकर्ताहरूले केही घण्टाको कडा प्रयासपछि आगो नियन्त्रणमा ल्याउन सफल भएका थिए।
जकार्ता अग्नि नियन्त्रक विभागका प्रवक्ताका अनुसार अहिलेसम्म २० वटा शव बाहिर निकालिएको छ भने अझै केही कर्मचारी बेपत्ता छन्। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइन्छ।
सेन्ट्रल जकार्ताका प्रहरी प्रमुख सुसाट्यो पूर्णोमो कोन्ड्रोले आगो निभाइसकेको र भवनभित्र अरू सम्भावित पीडितहरूको खोजी कार्य जारी रहेको जानकारी दिए। उनका अनुसार, आगलागी सुरु हुने बेला केही कर्मचारीहरू खाजा खाइरहेका थिए भने अन्यहरू कार्यालयबाट बाहिर निस्किरहेका थिए।















