Logo

२६ मंसिर,काठमाडौं । मेक्सिकोले स्वतन्त्र व्यापार सम्झौता (एफटीए) नभएका भारत, चीन, थाइल्यान्ड र इन्डोनेशियालगायतका एशियाली देशका करिब १ हजार ४ सय सामग्रीमा ५ देखि ५० प्रतिशतसम्म उच्च आयात कर लगाउने निर्णय गरेको छ। राष्ट्रपति क्लोडिया शिनबामको प्रस्ताव संसदबाट पारित भएपछि नयाँ कर दर आगामी जनवरी १ तारिखदेखि लागू हुने बीबीसीले जनाएको छ।

सबैभन्दा धेरै असर भारतीय कार उद्योगमा पर्नसक्ने अनुमान गरिएको छ। अहिलेसम्म २० प्रतिशत रहेको कारमा आयात कर अब ५० प्रतिशतसम्म पुग्नेछ, जसको प्रत्यक्ष प्रभाव फक्सवागन, ह्यून्डाई, निसान र मारुति सुजुकीले मेक्सिकोमा पठाउँदै आएका करिब १ अर्ब डलर बराबरका निर्यातमा पर्ने बताइएको छ।

मेक्सिकोका लागि भारत दक्षिण अफ्रिका र साउदी अरबपछि तेस्रो ठूलो कार आपूर्तिकर्ता देश हो। भारतीय कार निर्माताहरूका अनुसार मेक्सिकोमा बेचिने साना मोडेलका गाडीहरू अमेरिकी बजारका लागि नभई मेक्सिकोकै मागअनुसार उत्पादन गरिएकाले यो निर्णय विशेष रूपमा हानिकारक हुने बताइन्छ। चीन–अमेरिका व्यापार तनाव तीव्र बन्दै गएको समयमा मेक्सिकोले चीनमाथि पनि आयात कर ५० प्रतिशतसम्म बढाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि विभिन्न वस्तुमा उच्च कर लगाउने चेतावनी दिएको वेला, व्यापार सम्झौता सुरक्षित राख्ने प्रयासस्वरूप मेक्सिकोले यो कदम चालेको बताइएको छ।

यता, मेक्सिकोका उद्योगपतिहरुले उच्च भन्सारले उत्पादन लागत बढाउने, महँगी बढाउने र घरेलु उद्योग नै कमजोर बनाउने चेतावनी दिएका छन्। तर सरकार भने नयाँ आयात करबाट करिब २ अर्ब ८ करोड डलर बराबरको अतिरिक्त राजस्व आर्जन हुने अपेक्षामा छ।


सम्बन्धित समाचार