२६ मंसिर,काठमाडौं । आन्ध्र प्रदेशको अल्लुरी सीतारामराजु जिल्लामा यात्रु बोकेको बस भिरबाट खस्दा नौ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
बीबीसी तेलुगुका अनुसार, रामपाचोदावरमका उप-जिल्लापालक शुभम नकवालले भनेअनुसार बस अराकुबाट भद्राचलम जाँदै थियो र साँझ करिब ५ बजे दुर्घटना भएको थियो। उप-कलेक्टरका अनुसार बसको गियरबक्सले काम नगरेको कारण चालक मोड लिने क्रममा बस नियन्त्रण गर्न सकेन।
चित्तूर आईटीडीए प्रहरी चौकीका प्रमुख स्मरण राजले जानकारी दिएअनुसार मृतक सबै घटनास्थलमै ज्यान गुमाएका थिए। बसमा चित्तूर जिल्लाका भक्तजनहरू यात्रा गरिरहेका थिए।
दुर्घटनामा दुई चालकसहित ३७ जना सवार बस तुलसीपकलाबाट करिब नौ किलोमिटर टाढा घाटको बाटोमा दुर्घटनामा परेका थिए।
आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले दुःख व्यक्त गर्दै भने, “निजी बस दुर्घटनाबाट हामी सबै गहिरो स्तब्ध भएका छौं। यस दुर्घटनामा धेरैको ज्यान गएको अत्यन्तै दुःखद छ। मैले अधिकारीहरूसँग कुरा गरी प्रभावितहरूलाई प्रदान गरिँदै आएको सहयोगको जानकारी लिएको छु। घाइतेहरूलाई उत्तम चिकित्सा सहायता सुनिश्चित गर्न आवश्यक कदम चाल्न निर्देशन दिएको छु।”
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन्।

















