२८ मंसिर, काठमाडौँ । बेलायतका आवासीय चिकित्सकहरूले न्यायोचित तलबवृद्धि र काम गर्ने अवस्था सुधारको माग गर्दै फेरि पाँच दिने हडतालको घोषणा गरेका छन्। ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए) ले यही डिसेम्बर १७ बिहान ७ बजेदेखि डिसेम्बर २२ बिहान ७ बजेसम्म हडताल गर्ने घोषणा गरेको हो।
बीएमएले चिकित्सकलाई दिइँदै आएको तलब र कार्यपरिस्थिति सन्तोषजनक नरहेको दाबी गर्दै हडताल आह्वान गरेको जनाएको छ। ‘सुपरफ्लू’ को प्रकोपले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) गम्भीर दबाबमा परिरहेको समयमा चिकित्सकहरूको यो हडताल १४औँ हुने भएको छ। अघिल्लो महिना नोभेम्बर मध्यतिर मात्रै उनीहरूले पाँच दिने हडताल गरेका थिए।
बेलायत यतिखेर गम्भीर फ्लू प्रकोपको सामना गरिरहेको छ। इङ्ग्ल्यान्डमा फ्लूका कारण अस्पताल भर्ना हुने बिरामीहरूको संख्या एक सातामै ५५ प्रतिशतले बढेको छ। गत हप्ता प्रत्येक दिन औसत २ हजार ६ सय ६० जना फ्लूका बिरामी अस्पताल भर्ना भएका थिए, जुन सन् २०२१ देखि तथ्याङ्क राख्न सुरु भएयताकै उच्च हो। अघिल्लो हप्ता यो संख्या १ हजार ७ सय १७ थियो।
स्वास्थ्य अधिकारीहरूका अनुसार स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा पनि फ्लूका केसहरू तीव्र गतिमा बढिरहेका छन्। विशेषगरी बालबालिका र युवाहरू बढी प्रभावित भएका छन्।
बीएमएको दाबीअनुसार सन् २०२५ मा गरिएको तलब वृद्धिपछि पनि आवासीय चिकित्सकहरूको तलब सन् २००८ को तुलनामा वास्तविक सर्तमा करिब २० प्रतिशत कम छ। सरकारले उपभोक्ता मूल्य सूचकांक (सीपीआई) का आधारमा तलब वृद्धि गणना गर्दै आएको छ।
तर बीएमएले धेरै आवासीय चिकित्सकहरू माथि ठूलो मात्रामा विद्यार्थी ऋण रहेको र त्यसको ब्याज खुद्रा मूल्य सूचकांक (आरपीआई) का आधारमा गणना हुने गरेको बताउँदै सीपीआई प्रयोग गर्दा वास्तविक क्षति नदेखिएको दाबी गरेको छ। नफिल्ड ट्रष्टको विश्लेषणअनुसार सीपीआई प्रयोग गर्दा सन् २००८ यता तलब करिब ५ प्रतिशत घटेको देखिन्छ भने आरपीआई प्रयोग गर्दा यो गिरावट झन्डै २० प्रतिशत पुग्छ।
हडताल फिर्ता लिन सरकारको आग्रह
स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले चिकित्सकहरूलाई सरकारको पछिल्लो प्याकेज स्वीकार गरी हडताल फिर्ता लिन आग्रह गरेका छन्। सरकारको प्रस्तावमा बेलायती मेडिकल ग्र्याजुएट्सलाई विशेष तालिम भूमिकामा प्राथमिकता दिने नयाँ कानुनी व्यवस्था, आगामी तीन वर्षमा विशेष तालिम पद संख्या एक हजारबाट चार हजारसम्म पुर्याउने योजना तथा रोयल कलेज परीक्षा र आवासीय चिकित्सक सदस्यता शुल्कका लागि कोष व्यवस्था समावेश छ।
तर उक्त प्रस्तावले सन् २००८ देखि वास्तविक सर्तमा भएको २६ प्रतिशत तलब क्षय पूर्ति नगरेको भन्दै बीएमए असन्तुष्ट देखिएको छ। पछिल्लो तीन वर्षमा २८.९ प्रतिशत तलब वृद्धि भइसकेको भए पनि माग पूर्ण रूपमा सम्बोधन नभएको संघको भनाइ छ।
बीएमएले सरकारी प्रस्ताव आसन्न हडताल रोक्न पर्याप्त छ वा छैन भन्ने विषयमा सदस्यहरूसँग अनलाइन मतदानमार्फत परामर्श गर्ने जनाएको छ। मतदान हडताल सुरु हुनुभन्दा दुई दिनअघि सोमबार बन्द हुनेछ।
प्रधानमन्त्री किअर स्टारमरले फ्लूको प्रकोप बढिरहेका बेला चिकित्सकहरूको हडताल ‘लापरवाह’ हुने टिप्पणी गरेका छन्। उनले कोरोनाभाइरस महामारीपछि एनएचएस सबैभन्दा चुनौतीपूर्ण अवस्थामा पुगेको भन्दै हडतालले स्वास्थ्य सेवा प्रणाली र बिरामीहरूलाई गम्भीर जोखिममा पार्ने चेतावनी दिएका छन्।
को हुन् आवासीय चिकित्सक ?
आवासीय चिकित्सकहरूलाई पहिले ‘जुनियर डाक्टर’ भनिन्थ्यो। तर सेप्टेम्बर २०२४ मा सरकारले उनीहरूको विशेषज्ञता र जिम्मेवारीलाई राम्रोसँग प्रतिबिम्बित गर्न नाम परिवर्तन गरेको हो। इङ्ग्ल्यान्डका करिब आधा चिकित्सक आवासीय चिकित्सक हुन्, जो एनएचएस अन्तर्गत आकस्मिक सेवा, अस्पताल तथा जिपी सर्जरीमा कार्यरत छन्।
इष्ट एङ्ग्लिया विश्वविद्यालयका कन्सल्टेन्ट सर्जन तथा एसोसिएट प्रोफेसर डा. कमलराज अर्यालका अनुसार चिकित्सा डिग्री पूरा गरेका आवासीय चिकित्सकहरू पूर्ण रूपमा ‘क्वालिफाइड’ चिकित्सक हुन्, जसमा केहीले एक दशकभन्दा बढी अनुभव समेत हासिल गरेका छन्।
इङ्ग्ल्यान्डमा पहिलो फाउण्डेशन वर्षमा आवासीय चिकित्सकको वार्षिक तलब ३८ हजार ८ सय ३१ पाउण्ड छ भने दोस्रो वर्षमा ४४ हजार ४ सय ३९ पाउण्ड पुग्छ। आठ वर्ष वा सोभन्दा बढी अनुभवपछि तलब करिब ७३ हजार पाउण्डसम्म पुग्न सक्ने जनाइएको छ। सन् २०२३ र २०२४ मा उनीहरूको तलब २२ प्रतिशत र सन् २०२५ मा थप ५.४ प्रतिशतले बढाइएको थियो।















