२ पुस, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्।
यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरियाका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक लगाइएको ह्वाइट हाउसले जनाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार अमेरिकामा प्रवेशसम्बन्धी मापदण्डलाई थप कडा बनाउने निरन्तर प्रयासअन्तर्गत यो निर्णय गरिएको हो। थ्यांक्सगिभिङ सप्ताहन्तमा नेशनल गार्डका दुई सैनिकमाथि भएको गोलीकाण्डमा एक अफगान नागरिक पक्राउ परेपछि सुरक्षा चासो झनै बढेको भन्दै प्रशासनले नयाँ कदम चालेको बताइएको छ।
अमेरिकी प्रशासनले सम्भावित सुरक्षा जोखिमलाई कारण देखाउँदै आव्रजन तथा यात्रासम्बन्धी नियमहरू थप कडाइ गरिएको स्पष्ट पारेको छ। यसका साथै प्यालेस्टिनी प्राधिकरणद्वारा जारी गरिएको यात्रा कागजात बोकेका व्यक्तिहरूमाथि पनि पूर्ण रूपमा अमेरिका यात्रा प्रतिबन्ध लगाइएको छ।
यसअघि गत जुन महिनामा राष्ट्रपति ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका भ्रमणमा पूर्ण प्रतिबन्ध लगाउने तथा थप सात देशका नागरिकमाथि आंशिक प्रतिबन्ध लागू गर्ने घोषणा गरेका थिए। पछिल्लो निर्णयसँगै ट्रम्प प्रशासनको कडा आव्रजन नीति पुनः अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ।
















