Logo

६ पौष, रौतहट । चन्द्रपुर नगरपालिका–१० स्थित चन्द्रनिगाहपुर-गौर सडक खण्डको बाल्चनपुरमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

प्रहरीका अनुसार, गरुडाबाट बाल्चपुरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०३–०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक ५० वर्षीय प्रमोद साहको घटनास्थलमै मृत्यु भएको छ।

मोटरसाइकलमा सवार ६५ वर्षीय जोगेन्द्र हजरा पासवान गम्भीर घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल, बारा पठाइएको छ।

प्रहरी नायब उपरीक्षक रूपा लाबुङका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा दुई वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।

दुर्घटनाले स्थानीय यातायातमा अस्थायी अवरोध समेत सिर्जना गरेको छ। प्रहरीले सवारी सावधानी अपनाउन आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ।


सम्बन्धित समाचार
भर्खरै