८ पौष, काठमाडौँ । सन् २०२५ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विस्तारका कारण विश्वभर करिब ५५ हजार मानिसले रोजगारी गुमाएका छन् ।
अमेजन, माइक्रोसफ्ट र सेल्सफोर्सजस्ता ठूला प्रविधि कम्पनीहरूले हजारौँ कर्मचारी कटौती गर्दा एआईलाई मुख्य कारणका रूपमा देखिएको छ। विश्वप्रसिद्ध वित्तीय समाचार च्यानल सीएनबीसीले यो तथ्यांक सार्वजनिक गरेको हो ।
यस वर्ष अमेरिकामा मात्रै करिब ११ लाख ७० हजार रोजगारी कटौती भएको छ, जुन सन् २०२० को कोभिड-१९ महामारीपछिको सबैभन्दा ठूलो संख्या हो । विश्लेषकहरूका अनुसार कम्पनीहरूले लागत घटाउने र स्वचालन बढाउने रणनीतिका कारण मानव श्रमको प्रयोग घटाउँदै लगेका छन् ।
अनलाइन खुद्रा कम्पनी अमेजनले सन् २०२५ मा आफ्नो इतिहासकै सबैभन्दा ठूलो कर्मचारी कटौती गर्दै १४ हजार कर्पोरेट पद हटाएको छ । अमेजनका प्रमुख कार्यकारी एन्डी जेसीले यसअघि नै एआईको प्रयोगले कम्पनीको कार्यबल क्रमशः घट्ने स्पष्ट पारिसकेका थिए ।
त्यस्तै, प्रविधि कम्पनी माइक्रोसफ्टले यस वर्ष करिब १५ हजार कर्मचारी कटौती गरेको छ । भारतको आईटी सेवा क्षेत्रमा पनि एआईको प्रभाव देखिएको छ । टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस) ले झन्डै २० हजार रोजगारी कटौती गरेको जनाएको छ ।
ग्राहक सम्बन्ध व्यवस्थापन कम्पनी सेल्सफोर्सले सेप्टेम्बर महिनामा ४ हजार ग्राहक सेवा कर्मचारी हटाउँदै एआईले ती काममध्ये करिब ५० प्रतिशतसम्म गर्न सक्ने दाबी गरेको छ । यस्तै, मानव संसाधन प्लेटफर्म वर्कडेले १ हजार ७ सय ५० कर्मचारी हटाउँदै एआईमा लगानी बढाउन यस्तो निर्णय लिइएको जनाएको छ ।
म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले नोभेम्बरमा सार्वजनिक गरेको एक अध्ययनअनुसार हाल एआई अमेरिकी श्रम बजारको करिब ११ दशमलव ७ प्रतिशत काम गर्न सक्षम भइसकेको छ । यद्यपि, रोजगारी कटौतीका वास्तविक कारणमा एआईको भूमिका कति निर्णायक छ भन्ने विषयमा भने विज्ञहरूबीच अझै विवाद रहँदै आएको छ ।
एआईको तीव्र विकासले उत्पादनशीलता बढाए पनि रोजगारी सुरक्षामा चुनौती थपिएको भन्दै श्रम बजार र नीतिगत तहमा गम्भीर छलफल आवश्यक देखिएको छ ।















